
काठमाडौँ- नेपाल विद्युत प्राधिकरणले अर्बौँ रुपैयाँ बराबरको विद्युत् वक्यौता उठाउन चाँडै बोर्ड बैठक बाेलाउने तयारी गरेको छ। ऊर्जामन्त्रीको जिम्मेवारी सम्हालेसँगै कुलमान घिसिङले पहिलो निर्णयका रूपमा वक्यौता असुलीको प्रक्रिया अघि बढाउने घोषणा गरेका थिए।
प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यका अनुसार सोमबार वा मंगलबार बोर्ड बैठक बसेर आवश्यक कदमबारे निर्णय हुनेछ। ‘बक्यौतासम्बन्धी मन्त्रीज्यूको निर्णयलाई हामी कार्यान्वयन गर्छौँ। विद्युत् प्राधिकरणको बोर्डमा मन्त्री नै अध्यक्ष हुने भएकाले निर्णय भएपछि वक्यौता उठाउन कुनै समस्या हुँदैन,’ शाक्यले भने।
उनले सरकारको निर्देशनअनुसार तत्काल कार्यान्वयन हुने बताए। कुलमान घिसिङ प्राधिकरणको कार्यकारी निर्देशक हुँदा पनि उद्योगी व्यवसायीले तिर्न बाँकी राखेको वक्यौता असुलीका लागि पटकपटक लाइन काट्ने निर्णय गरिएको थियो। तर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगीको लाइन पुनः जडान गर्न निर्देशन दिएका कारण सो कदम पूर्ण रूपमा अघि बढ्न सकेको थिएन।
प्राधिकरणका अनुसार डेडिकेटेड र ट्रंकलाइन प्रयोग गर्ने उद्योग तथा सार्वजनिक क्षेत्रबाट जरिवानासहित करिब २५ अर्ब रुपैयाँ उठाउनुपर्ने बाँकी छ। लोडसेडिङको समयमा उद्योगलाई २४ घण्टा निरन्तर विद्युत् आपूर्ति गरिएको भए पनि प्रयोग नगरेको बिजुलीसमेतको बिल आएको भन्दै उद्योगीहरूले भुक्तानी गर्न अस्वीकार गर्दै आएका छन्।