सभापतिमाथि आक्रमणको घडीमा नेतृत्व परिवर्तनको कुरा उठाउनु गलत : कांग्रेस प्रवक्ता महत

हिमाल प्रेस ५ असोज २०८२ १०:४३ | Sunday, September 21, 2025
सभापतिमाथि आक्रमणको घडीमा नेतृत्व परिवर्तनको कुरा उठाउनु गलत : कांग्रेस प्रवक्ता महत

काठमाडौँ- नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले पार्टी सभापति शेरबहादुर देउवामाथि भएको आक्रमणको घाउ निको नभइसकेको अवस्थामा नेतृत्व परिवर्तनको बहस गर्नु गलत भएको टिप्पणी गरेका छन्।

आइतबार बिहान महाराजगञ्जस्थित आफ्नो जलेको घरमा पत्रकार सम्मेलन गर्दै महतले संवेदनशील घडीमा आन्तरिक विवाद बढाउनु “घाउमा नुन छर्ने” काम भएको बताए। उनले कांग्रेस अहिले एक भएर अघि बढ्नुपर्नेमा जोड दिँदै विभाजनकारी प्रवृत्तिप्रति असन्तुष्टि व्यक्त गरे।

महतले नाम नलिए पनि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित केही नेताले जेनजी आन्दोलनको चाहनाअनुसार नेतृत्व परिवर्तन गर्नुपर्ने भनाइलाई लक्षित गर्दै आपत्ति जनाए। ‘चार दिनअघिसम्म सभापति देउवासँग नजिक देखिनेहरू नै अहिले प्रश्न उठाइरहेका छन्,’ उनले भने।

उनले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको शैली लोकतान्त्रिक मार्गअनुरूप नभएको भन्दै त्यसबारे कांग्रेसले पहिले नै आलोचना गरिरहेको स्मरण गरे। तर अहिले नयाँ परिस्थिति भन्दै तत्काल नेतृत्व परिवर्तनको माग गर्नु अविवेकपूर्ण भएको उनको तर्क छ।

‘अभिभावकमाथि सांघातिक प्रहार भएको छ, कम्तीमा उपचार पूरा नहुँदासम्म पर्खिनुपर्छ,’ महतले भने। उनले पार्टीभित्र आवश्यक मन्थन र सुधार हुने भए पनि आधिकारिक निर्णयबाटै अघि बढ्नुपर्नेमा जोड दिए।

प्रकाशित: ५ असोज २०८२ १०:४३ | Sunday, September 21, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast