दसैँको सामग्री बनाउन व्यस्त छन् भक्तपुरका कुम्हालेहरू

हिमाल प्रेस ४ असोज २०८२ ९:१२
4
SHARES
दसैँको सामग्री बनाउन व्यस्त छन् भक्तपुरका कुम्हालेहरू

भक्तपुर- सूर्यविनायकको श्याम प्रजापतिको परिवार यतिबेला दसैँको लागि माटोको सामग्री तयार गर्न निकै व्यस्त छन्। बिहानदेखि बेलुकीसम्म फुर्सद छैन। नजिकिँदै आएको दसैँका कारण राति समेत काम गर्नुपर्ने व्यस्तता छ ।

दसैँको घटस्थापनादेखि सप्तमी, महाअष्टमी, महानवमी र बडादसैँको दिन पूजा गर्न आवश्यक पर्व सामग्रीहरू बनाउन अहिले उनको परिवारलाई भ्याइनभ्याइ भएको हो। ‘दसैँ आइसक्यो। अर्डरको सामान बनाउन अझै बाँकी छ। श्यामले भने, ‘अहिले परिवारका सबै सदस्यहरू यसै काममा व्यस्त छन्। छोराछोरी बिहान र स्कुल छुट्टी पछि यसै काममा व्यस्त छन्।’

श्यामका बुबाआमा, श्रीमती, बहिनी, छोराछोरीहरू घटस्थापनामा पूजा कोठामा राख्ने गमला, सानो ध्याम्पो, धुपौरो, दूध राख्ने गपचा, जाँड राख्ने थापेङ र सोमा, रक्सी खाख्ने अंती, दूध पतु, सुकुना, गपचा, समेबजी खोला, सल्लीलगायतका सामग्री बनाउनमा व्यस्त छन्।

दसैैँमा जमरा राख्ने ढुकुटी कोठामा देवी दुर्गाको पूजाका लागि माटोले बनेका सामग्रीको बढी प्रयोग हुने भएकाले बजारमा यसको माग उच्च छ। यही माग धान्न अहिले श्यामका परिवारका सदस्यहरू माटो मुछ्ने, भाँडा बनाउने, सुकाउने, रङ लगाउने, आगोमा राख्नेदेखि सम्पूर्ण तयारी गरी बजार लाने काममा व्यस्त छन्।

त्यसैगरी भक्तपुरको तालाक्को टोलका अर्को व्यवसायी सुन्दर प्रजापतिलाई पनि यतिबेला भ्याइनभ्याइ छ । बिहान उठेदेखि दसैँको अर्डरका लागि आएको सामग्री बनाउने कार्यमा व्यस्त छन् । दसैँ र तिहारको समयमा अर्डर आएका पर्व सामग्री मागअनुसार समयमा पुर्‍याउन सके वर्ष दिनका लागि घर चलाउन र बच्चाहरूको स्कुलको खर्च सजिलै पुग्ने, अरु बेला त्यति धेरै व्यस्त हुन नपर्ने सुन्दर बताउँछन्।

उनले भने, ‘यो समयमा उपत्यकालगायत बाहिरी जिल्लाहरूबाट अर्डर आएका पर्व सामग्रीहरू समय पुर्‍याउन सके खासै अरु बेला व्यस्त हुन् पर्दैन । यसैले वर्ष दिनमा खान, लाउन र छोराछोरीको खर्च पुग्छ । हामीले बढी दुःख गर्ने भनेको दसैँ, तिहार र छठको लागि तीन महिना हो। अरू बेला फुर्सदमा काम गरेपनि खासै फरक पर्देन । यतिले वर्षदिनमा गुजारा गर्न सहज हुन्छ।’

बजारमा विभिन्न आधुनिक सामान भए पनि पर्वको समयमा माटोको सामग्री बढी प्रयोग हुने भएकाले पनि यस्को व्यापार निकै फस्टाउँदै गएको व्यापारीहरू बताउँछन् । यस व्यवसायमा लागत र परिश्रम अनुसार बढी आम्दानी हुने भएकाले पेसाप्रति नयाँ पुस्ताहरू आकर्षित भएको देखिन्छ।

भक्तपुरमा दुई रुपैयाँ ५० पैसादेखि ९०० सम्मका सामग्री उत्पादन हुन्छ। चाडपर्वको समय भक्तपुरको तालक्को र सूर्यविनायकको मात्र नभएर सूर्यमढी, लिवाली, तुमुचो, बुलुचा, घलाटे, चोलिँचा, च्याम्हासिहं र कुम्हालेहरूको परिवारका सदस्यहरू समेत पर्व सामग्री बनाउने कायमा व्यस्त देखिन्छ। यो सयम अधिकांस कुम्हाले परिवारका सदस्यहरू भाँडा बनाउने, सुकाउने, रङ लगाउने, बुट्टा राख्ने, मिलाएर बजार पठाउने कार्यमा व्यस्त छन्।

भक्तपुरमा उत्पादन गर्ने पर्व सामग्रीहरू नवदुर्गा देवगृह, तलेजु मन्दिर, एकान्त कुमारीको देवगृह, भक्तपुर नगर, काठमाडौँ, ललितपुर, पनौती, त्रिशूली, पोखरा, कीर्तिपुर, थेचो, बनेपा, धुलिखेलसम्म पुग्ने व्यवसायी सुन्दर प्रजापतिले जानकारी दिए।

प्रकाशित: ४ असोज २०८२ ९:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast