
काठमाडौँ- जनमत पार्टीका पदाधिकारीसहितका नेताहरूले अध्यक्ष डा.सीके राउतलाई नेतृत्व छाड्न २४ घण्टे अल्टिमेटम दिएका छन्।
वरिष्ठ उपाध्यक्ष अब्दुल खान, केन्द्रीय प्रवक्ता शरदसिंह यादव, जनमत युवा संघका संयोजक सञ्जयकुमार यादवसहित ६ जना नेताले सामूहिक हस्ताक्षर गरेर नेतृत्व परिवर्तनको माग गरेका हुन्।
उनीहरूले राउतले मार्ग प्रशस्त गरेमा पार्टीलाई थप सशक्त, लोकतान्त्रिक, जवाफदेही र जनउत्तरदायी बनाउन सकिने उल्लेख गरेका छन्। पत्रमार्फत संगठन विभाग प्रमुख तथा राउतका सहोदर दाजु जयकान्त राउतलाई पनि पद छाड्न आग्रह गरिएको छ।
जेनजी आन्दोलनले नेपालको राजनीतिमा ऐतिहासिक मोड ल्याएको र यसले सत्तारूढ गठबन्धन, प्रधानमन्त्री, गठबन्धनका शीर्ष नेता तथा प्रमुख प्रतिपक्षी दलमाथि गम्भीर प्रश्न उठाएको भन्दै पार्टीले पनि आत्मसमीक्षा गर्नुपर्ने उनीहरूको भनाइ छ।
पत्रमा भनिएको छ,‘देशको राजनीतिक, सामाजिक तथा प्रशासनिक प्रणालीमा शुद्धीकरणको आवश्यकता तीव्र रूपमा बढिरहेको बेला जनमत पार्टीले पनि परिवर्तनको बाटो लिनु अपरिहार्य भएको छ।’
पार्टीलाई जनताको भरोसा र समर्थनका कारण राष्ट्रिय पार्टीको मान्यता प्राप्त भए पनि पछिल्लो समय शीर्ष नेतृत्वको कमजोर कार्यशैली, निर्णय प्रक्रियामा पारदर्शिताको अभाव र जनभावनाविपरीत गतिविधि देखिएको भन्दै नेताहरूले आलोचना गरेका छन्।