बन्धकलाई मानव ढालका रूपमा प्रयोग नगर्न ट्रम्पको चेतावनी

हिमाल प्रेस ३१ भदौ २०८२ ११:५४
38
SHARES
बन्धकलाई मानव ढालका रूपमा प्रयोग नगर्न ट्रम्पको चेतावनी अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प। तस्बिर : एपी

काठमाडौँ– अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासलाई गाजामा रहेका इजरायली बन्धकलाई मानव ढालका रूपमा अघि नसार्न चेतावनी दिएका छन्। उनले ती बन्धकलाई रिहा गर्न आग्रह पनि गरे। ट्रम्पले सोमबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘मैले एउटा समाचार पढेँ, जसअनुसार हमासले गाजामाथि भइरहेको इजरायली भीषण बमबारीबीच बन्धकलाई मानवीय ढालका रूपमा प्रयोग गर्ने योजना बनाएको छ।’

उनले लेखेका छन्, ‘यो एउटा मानवीय अत्याचार हो, जसको उदाहरण इतिहासमा थोरै मानिसले मात्र देखेका छन्। यस्तो हुन नदिनुहोस्, नत्र सबै ‘सर्त अन्त्य हुनेछन्। सबै बन्दकलाई तुरुन्त मुक्त गर्नुहोस्।’

ट्रम्पले हमासविरुद्ध नियमित चेतावनी दिइरहेका छन्। हमासका अधिकांश नेताहरू पहिल्यै मारिएका र इजरायलले गाजाको ठूलो भाग नष्ट गरिसकेको अवस्थामा अमेरिकी राष्ट्रपति हमासलाई अझ कसरी दण्डित गर्न सक्छन् भन्ने कुरा स्पष्ट छैन।

पछिल्ला केही सातादेखि इजरायलले गाजा सिटीमा बाँकी संरचना ध्वस्त पार्ने योजनाबद्ध अभियान चलाइरहेको छ। आवासीय भवन र विद्यालयहरूमा आक्रमण गरिएको छ। स्थानीय बासिन्दालाई सामूहिक रूपमा भवन खाली गर्न बाध्य बनाइएको छ। संयुक्त राष्ट्रसंघका विशेष दूतले आक्रमणलाई जातीय सफायाको अभियानको हिस्सा हो भनेका छन्।

ट्रम्पको चेतावनी इजरायलले पाँचजना हमास सदस्य र एक जना कतारी सुरक्षा अधिकारीको हत्या अनि कतारको राजधानी दोहामा वरिष्ठ हमास नेतामाथि हत्या प्रयास गरेको घटनापछि आएको हो। ती नेताहरू अमेरिकी राष्ट्रपतिले अघि सारेको युद्धविराम र बन्धकसम्बन्धी प्रस्तावको वार्तामा संलग्न थिए।

प्रकाशित: ३१ भदौ २०८२ ११:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast