
दाङ- दाङको तुलसीपुरमा रहेका विभिन्न सरकारी कार्यालयले जेनजीद्वारा गरिएको प्रदर्शनका क्रममा चोरी भएका सामान फिर्ता गरिदिन सार्वजनिक रूपमा अनुरोध गरेका छन्। यही भदौ २३ र २४ गते भएको ‘जेनजी’ को प्रदर्शनका क्रममा कार्यालय तोडफोड तथा आगजनीपछि चोरी भएका सामान फिर्ताका लागि आग्रह गरेका हुन्।
उच्च सरकारी वकिल कार्यालय तुलसीपुरले आन्दोलनका क्रममा चोरी भएका सामान फिर्ता गरिदिन सार्वजनिक रूपमा अनुरोध गरेको छ । कार्यालयका निमित्त प्रमुख उपन्यायाधिवक्ता नगेन्द्र लम्सालद्वारा जारी सूचनामा कम्प्युटर, ल्यापटप, प्रिन्टर, हार्डडिक्स, कुर्सी, टेबल, फ्रिजलगायत सामग्री चोरी भएका उल्लेख छ ।
कार्यालयले सामाजिक सञ्जालमा देखिएका तस्बिर तथा भिडियो, सीसीटिभी फुटेज र प्रत्यक्षदर्शीको भनाइका आधारमा चोरीमा संलग्न व्यक्तिको पहिचान भइसकेको जनाएको छ ।
चोरी भएका सामान तुरुन्त फिर्ता गर्न वा नजिकको प्रहरी कार्यालयमा बुझाइदिन कार्यालयले अनुरोध गरेको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेकाले दोषीलाई शीघ्र कानुनी दायरामा ल्याउने तयारी गरेको छ ।
त्यस्तै उच्च अदालत तुलसीपुरबाट कम्प्युटर, फ्रिज, सोफालगायत सामग्री चोरी भएकाले तुरुन्तै फिर्ता गरिदिन सूचना अधिकारी कृष्णप्रसाद शर्माले आग्रह गर्नुभयो । त्यसैगरी इलाका प्रशासन कार्यालय तुलसीपुरबाट पनि सोफा, कुर्सीलगायत सामान चोरी भएका कार्यालय प्रमुख महेश गुरुङले जानकारी दिए।
तुलसीपुरस्थित नगरविकास समितिको कार्यालय पूर्ण रूपमा जलाएर नष्टगरी निवासबाट सुनका विभिन्न प्रकार छ थान गरगहना, ल्यापट एक थानलगायत सामग्री चोरी भएका कार्यालय प्रमुख लीलाधर शिवाकोटीले जानकारी दिए। उनले ३८ वर्षदेखि तुलसीपुरमा बसेर आफूले कमाएका सामग्री, सुनका गरगहना र केही नगद चोरी गरेर लगेकाले फिर्ता गर्नका लागि सूचना सार्वजनिक गरिएको जानकारी दिए।
भू तथा जलाधार व्यवस्थापन कार्यालयले पनि एक सूचनामार्फत कार्यालयबाट चोरी गरेका सामान फिर्ता गर्न सार्वजनिक सूचना जारी गरेको छ । त्यसैगरी, यहाँका आगजनी तथा तोडफोड भएका कार्यालयले पनि चोरी गरेको सामान फिर्ता गर्न सूचना जारी गरेका छन्।
अटेर गरेमा सामाजिक सञ्जालमा देखिएका तस्बिर र भिडियो, सिसीटीभी फुटेज र प्रत्यक्षदर्शीको भनाइका आधारमा चोरीमा संलग्न व्यक्तिको पहिचानगरी कारबाही गरिने सूचनामा उल्लेख छ ।