
इटहरी- विराटनगरस्थित भाटभटेनी सुपरमार्केटको भवनभित्र आगलागीपछिको सरसफाइ क्रममा जलेको अवस्थामा एक शव फेला परेको छ। मोरङ प्रहरीका अनुसार सोमबार सफाइ गर्ने क्रममा सुपरमार्केटको दोस्रो तल्लामा पूर्ण रूपमा जलेको अवस्थामा शव भेटिएको हो।
जेन-जी आन्दोलनका क्रममा विराटनगरस्थित भाटभटेनी सुपरमार्केटमा आगजनी र तोडफोड भएको थियो। सोही क्रममा लुटपाटका लागि प्रवेश गरेकामध्ये कसैको मृत्यु भएको हुन सक्ने अनुमान प्रहरीले गरेको छ।
मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुडालका अनुसार घटनास्थलमा प्रहरी टोली पुगेर मुचुल्का तयार गरिएको छ। उनले भनिन्, ‘शव पूर्ण रूपमा जलेको अवस्थामा छ, पहिचान गर्न कठिन छ। शवलाई पोस्टमार्टमका लागि कोशी अस्पताल पठाइएको छ।’
जेन-जी आन्दोलन र प्रदर्शनका क्रममा देशभरका भाटभटेनी सुपरमार्केटहरू निशानामा परेका थिए। सो क्रममा आगजनी र तोडफोडका कारण ठूलो भौतिक क्षति भएको थियो। धरानमा भएको आगलागीमा मात्रै चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।