संविधान खारेज या पुनःलेखन र संसद् विघटनमा छलफल भइरहेको छ : जेनजी प्रतिनिधि खनाल

हिमाल प्रेस २५ भदौ २०८२ १६:११
संविधान खारेज या पुनःलेखन र संसद् विघटनमा छलफल भइरहेको छ : जेनजी प्रतिनिधि खनाल

काठमाडौँ- संसद् विघटन गर्ने कि नगर्ने र संविधान पुनःलेखन गर्ने वा खारेज गर्ने भन्ने विषयमा जेनजी आन्दोलनभित्र मतभेद रहेको छ।
जेनजी आन्दोलनका प्रतिनिधि अमित खनालले हिमालप्रेसलाई बताएअनुसार जेनजीबीच एउटै विषयमा मात्रै छलफल भइरहेको छैन।

खनालले भ्रष्टाचारविरोधी एजेन्डामा भने सबैजना एकमत रहेको बताए। ‘संसद् विघटन गर्ने नगर्ने, संविधान पुनःलेखन या खारेज गर्ने भन्ने कुरामा धेरै नै विवाद छन्,’ खनालले भने, ‘संसद्भित्र या बाहिरबाट कसलाई नेतृत्वमा लग्ने भन्ने विषयमा पनि अन्योल छ।’

खनालले हालै वकिलहरूसँगको परामर्श र देशभरबाट सुझाव संकलनको प्रक्रिया चलिरहेको बताए। उनका अनुसार आन्दोलनलाई वैधानिक धार दिन र देशलाई अग्रगमनतर्फ लैजाने उद्देश्यले गम्भीर छलफल भइरहेको छ।

‘के कसरी अगाडि बढ्ने भन्ने विषयमा अझै निचोडमा पुग्न नसक्दा केही ढिलाइ भएको हो,’ खनालले भने। संविधान र संसद्सम्बन्धी विषयमा ठोस निर्णयमा पुग्न सकेपछि निकास निस्कने खनालले बताए।

जेनजी पुस्ताले सोमबार र मंगलबार दुई दिन देशव्यापी आन्दोलन गर्दै सत्ता कब्जा गरेका थिए।

यस्तो छ जेनजी आन्दोलनका प्रतिनिधि अमित खनालको भनाइ

हाम्रो एउटै ग्रुप भन्ने छैन। थुप्रै ग्रुपहरूले संयोजन गरेर आन्दोलनलाई सफल बनाउनुभएको हो। विभिन्न साथीहरूका, विभिन्न ग्रुपहरूका मागहरू छन्। सबैका एउटै मागहरू पनि छैनन्। भ्रष्टाचारको मुद्दामा हामी एकजुट छौं। संसद् विघटन गर्ने नगर्ने, संविधानलाई पुनःलेखन या खारेज गर्ने भन्ने कुरामा धेरै नै विवाद छन्। संसद्भित्र या बाहिरबाट कसलाई नेतृत्वमा लग्ने, के गर्ने भन्ने कुराहरूमा अन्योल छ। त्यही भएर वैधानिक रूपमा हामीले वकिलहरूसँग पनि कुराकानी गरेर कसरी जाँदा राम्रो हुन्छ, देशलाई अग्रगमनतर्फ जान सकिन्छ भनेर छलफल भइरहेको छ। के कसरी अगाडि बढ्ने भन्ने देशभरबाट सुझाव संकलन भइरहेका छन्। यिनैयिनै विषयमा निचोड नहुँदा समय लागेको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast