
काठमाडौँ- साेमबार जेनजी आन्दोलनमा १९ जना युवाको ज्यान गएको घटनाप्रति दुःख प्रकट गर्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले देशभर सार्वजनिक तथा मालवाहक यातायात सेवा अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेको छ।
महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘शान्तिपूर्ण प्रदर्शनमा सरकारले दमनकारी व्यवहार अपनाएर निहत्था युवाको ज्यान लिएको छ। यस्तो संवेदनशील अवस्थामा शान्ति सुरक्षाको प्रत्याभूति नभएसम्म यातायात सञ्चालन असम्भव छ।’
महासंघले आन्दोलनमा ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ। साथै, नेपाल सरकारसँग घाइतेहरूको नि:शुल्क र प्रभावकारी उपचारको व्यवस्था गर्न आग्रह गरिएको छ।
महासंघले आफ्नो संगठन अन्तर्गत रहेका सबै सदस्य संघ, समिति, कम्पनी तथा प्रालिहरूलाई घाइतेहरूको उपचारमा सक्दो सहयोग गर्न पनि अनुरोध गरेको छ।