काठमाडौँ- नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघले सवारी साधनको भाडा समायोजन गर्न माग गरेको छ।
इन्धनको मूल्य वृद्धि भएपछि यातायात क्षेत्रमा ठूलो समस्या उत्पन्न भएको भन्दै महासंघले सवारी साधनको भाडा समायोजन गर्न माग गरेको हो।
महासंघका महासचिव डेकनाथ गौतमले पेट्रोल र डिजेलको मूल्यवृद्धिका कारण सार्वजनिक यातायात तथा मालवाहक सवारी साधन सञ्चालन गर्न कठिन भएको बताएका छन्।
‘चैत २७ गते र वैशाख २ गते भएको मूल्यवृद्धिका आधारमा तत्काल नेपाल सरकारले २०६५ सालदेखि लागू गरेको वैज्ञानिक विधिअनुरुप स्वचालित प्रणालीबाट ५ प्रतिशत पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुँदा हुने भाडा समायोजना गरिदिन वा मूल्यवृद्धि फिर्ता लिन जोडदार माग गर्दछौँ,’ महासचिव गौतमले विज्ञप्ति निकालेर भनेका छन्।
महासंघले देशभरी सेवा सञ्चालन गरिरहेका यातायात व्यवसायीलाई सरकारबाट तोकिएको भाडा लिई अस्वस्थ्य प्रतिस्पर्धा नगर्न अनुरोधसमेत गरेको छ।
नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल आयल निगमबाट पटक–पटक मूल्यवृद्धि रोकेर वैकल्पिक व्यवस्था मिलाउन महासंघले सरकारलाई ध्यानाकर्षण गराएको छ।
इन्धनको मूल्यवृद्धि भएपछि व्यावसायीहरूको मागका आधारमा यातायात व्यवस्था विभागले हालसालै सार्वजनिक सवारी साधन र मालवाहक सवारी साधानको भाडा वृद्धि गरेको थियो।
विभागले चैत २५ गते गते अन्तर प्रदेश सार्वजनिक यातायातको भाडादर वृद्धि गरेको थियो।




