सार्वजनिक यातायातको भाडा अझै घटेन

हिमाल प्रेस १२ साउन २०८३ १५:३९ | Tuesday, July 28, 2026
8
SHARES
सार्वजनिक यातायातको भाडा अझै घटेन

काठमाडौँ- पेट्रोलियम पदार्थको मूल्य घटेको झण्डै एक महिना बितिसक्दा पनि बागमती प्रदेश सरकारले प्रदेशभित्र सञ्चालन हुने सार्वजनिक यातायातको भाडा समायोजन नगर्दा यात्रुहरू महँगो भाडा तिर्न बाध्य भएका छन्।

नेपाल आयल निगमले गत असार १७ गतेदेखि पेट्रोलियम पदार्थको मूल्य घटाए पनि बागमती प्रदेश सरकारअन्तर्गत उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयले हालसम्म प्रदेशभित्रको भाडादर समायोजन गरेको छैन।

अन्तरप्रदेश सञ्चालन हुने सार्वजनिक यातायातको भाडा घटिसकेको भए पनि प्रदेशभित्र र काठमाडौँ उपत्यकामा चल्ने सार्वजनिक यातायातको भाडा भने यथावत् छ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौलाले संघीय सरकारले अन्तरप्रदेशको भाडा समायोजन गरे पनि प्रदेश सरकारले प्रदेशभित्रको भाडा घटाउन चासो नदेखाएको बताए।

उनले वैज्ञानिक आधारमा भाडा समायोजन गर्न पटकपटक आग्रह गरिए पनि बागमतीसहित अधिकांश प्रदेश सरकारले बेवास्ता गरेको आरोप लगाए।

कोशी प्रदेशबाहेक अन्य प्रदेशले प्रदेशस्तरीय भाडा समायोजनमा खासै ध्यान नदिएको उनको भनाइ छ।

बागमती प्रदेश सरकारका वरिष्ठ अधिकृत खगेन्द्र पौडेलले मन्त्रालयको नाम र जिम्मेवारी परिवर्तनका कारण भाडा समायोजनमा केही ढिलाइ भएको बताए।

उनले केही दिनभित्रै प्रदेशभित्रको सार्वजनिक यातायातको नयाँ भाडादर सार्वजनिक गरिने जानकारी दिए।

यातायात व्यवस्था विभागले भने गत असार १८ गतेदेखि अन्तरप्रदेश सञ्चालन हुने सार्वजनिक तथा मालवाहक सवारीसाधनको भाडा दुई प्रतिशतले घटाइसकेको छ।

प्रकाशित: १२ साउन २०८३ १५:३९ | Tuesday, July 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast