बंगलादेश : धर्मगुरुको समाधिस्थलमा झडप, एकको मृत्यु

हिमाल प्रेस २१ भदौ २०८२ १६:४४
20
SHARES
बंगलादेश : धर्मगुरुको समाधिस्थलमा झडप, एकको मृत्यु

काठमाडौँ– बंगलादेशमा एक धर्मगुरुको चिहानमा सयौँ कट्टरपन्थी इस्लामवादीले आक्रमण गर्ने क्रममा एक जनाको मृत्यु भएपछि प्रहरीले शनिबार घटनामा संलग्नको खोजी कार्य सुरु गरेको जनाएको छ। मुस्लिम बहुल बंगलादेशमा कट्टरपन्थीहरूले आफ्नो पकड जमाइरहेका बेला गत वर्षको अगस्तमा अपदस्थ प्रधानमन्त्री शेख हसिनाको नाटकीय पतनपछि दर्जनौँ धार्मिक स्थलहरूमा आक्रमण भएको छ।

यद्यपि, मध्य बंगलादेशमा शुक्रबार भएको आक्रमण चिहान खनेर ‘शवलाई अपवित्र गरिएको’ दुर्लभ घटनासँग सम्बन्धित थियो। एक प्रत्यक्षदर्शीका अनुसार मौलवी नुरुल हक मोल्लाको शरीरमा आगो लगाएपछि घटनाले उग्ररूप लिन पुगेको हो।

राजबारी जिल्लाका प्रहरी सुपरिटेन्डेन्ट मोहम्मद कमरुल इस्लामले एएफपीसँग भने, ‘हामीले अपराधीको पहिचान गर्न सुरु गरेका छौँ र कोही पनि कानूनबाट बच्ने छैनन्।’

सुन्नी इस्लामवादी कट्टरपन्थीहरू मोल्लाको चिहानमा राखिएको ढुंगा इस्लामको सबैभन्दा पवित्र स्थल मक्काको काबासँग मिल्दोजुल्दो भएको भन्दै भीडले आक्रोश व्यक्त गरेपछि घटना भएको बताइएको छ। नुरा पग्लाको नामले चिनिने मोल्लाले आफूलाई इमाम महदी भएको दाबी गरेका थिए।

स्थानीय पत्रकार अजाज अहमदका अनुसार अगस्तमा मोल्लाको मृत्युपछि उनलाई राजबारीस्थित चिहानमा गाडिएको थियो। तर उनको अन्त्येष्टि मूलधारको सुन्नी मुस्लिम परम्पराभन्दा फरक गरिएको थियो।  मोल्लाका समर्थकहरूले चिहानलाई परिमार्जन गर्ने वाचा गरेका थिए। तर इमान–अकिदा रक्षा समिति नामक कट्टरपन्थी इस्लामी समूहका सदस्यहरूले शुक्रबार दिउँसोको प्रार्थनापछि मन्दिरमा प्रवेश गरेका थिए।

इस्लामले भने, ‘फलामे रड, हथौडा र लाठीसहित आएका करिब दुई हजार मानिसले नुरुल हकको समाधिस्थलमा प्रवेश गरी चिहानलाई अपवित्र बनाएका छन्।’ कट्टरपन्थी र मोल्लाका समर्थकबीच भएको झडपमा एक जनाको मृत्यु हुनुका साथै ५० जना घाइते भएको अस्पताल प्रशासनले जनाएको छ।

मृत्यु हुनेमा २८ वर्षीय रसेल मोल्ला रहेको प्रहरीले जनाएको छ। नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा रहेको बंगलादेशको अन्तरिम सरकारले मन्दिरको अपवित्रताको निन्दा गर्दै यसलाई ‘अमानवीय र घृणित’ भनेको छ।

युनुस र उनको प्रशासनले कट्टरपन्थीहरूलाई लगाम लगाउन असफल भएको भन्दै आलोचना भइरहेको छ।-रासस/एएफपी

प्रकाशित: २१ भदौ २०८२ १६:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast