 रूसी राष्ट्रपति भ्लादिमिर पुटिन। फाइल तस्बिर : एपी/रासस
                             रूसी राष्ट्रपति भ्लादिमिर पुटिन। फाइल तस्बिर : एपी/रासस
                                            काठमाडौँ- रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा युद्धविराम कार्यान्वयन भएपछिको दिनदेखि नै खटिन सक्ने पश्चिमी देशहरूको ‘सुरक्षा बल’ प्रस्ताव अस्वीकार गरेका छन्। पुटिनको यस्तो अभिव्यक्ति पेरिसमा सम्पन्न सुरक्षा प्रत्याभूतिको योजना टुंग्याउने उद्देश्यका साथ गरिएको शिखर बैठकपछि आएको हो।
फ्रान्सका राष्ट्रपति इमानुएल माक्रोंका अनुसार युक्रेनका २६ सहयोगी देशहरूले स्थल, जल वा आकाशमार्गबाट सुरक्षा व्यवस्था गर्न सैनिक परिचालन गर्ने प्रतिबद्धता औपचारिक रूपमा जनाइसकेका छन्। तर उनले यसमा कुनकुन देश संलग्न हुने भन्नेबारे खुलाएका छैनन्।
पुटिनले उक्त पहल अस्वीकार गर्दै युक्रेनमा पठाइने कुनै पनि सैनिक ‘वैध निसाना’ हुने चेतावनी दिएका हुन्। उनले तत्कालै खटाइने सैनिकहरूलाई लक्षित गर्दै यस्तो चेतावनी दिएका हुन्, यद्यपि तत्कालै सैनिक पठाउने योजना भने अहिलेसम्म सार्वजनिक गरिएको छैन।
हाल युक्रेनमा तत्कालै युद्धविराम हुने सम्भावना न्यून देखिएको छ। गत महिना अलास्कामा रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीचको शिखर बैठकले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलिन्स्कीसँग सम्भावित भेटवार्ताप्रति क्षणिक आशा जगाएको थियो।
अलास्का बैठकपछिदेखि बेलायत र फ्रान्सको नेतृत्वमा रहेको ‘कोएलिसन अफ द विलिङ’ ले सम्झौता भएमा युक्रेनलाई सुरक्षा प्रत्याभूति दिने तयारी तीव्र पारेको छ।
फ्रान्सेली राष्ट्रपति माक्रोंले भनेका छन्, ‘खटाइने कुनै पनि सैनिकहरू अग्रमोर्चामा नभई नयाँ ठूलो आक्रमण रोक्न मात्र प्रयोग गरिनेछन्।’
उता युक्रेनी राष्ट्रपति जेलिन्स्कीले पेरिसमा बिहीबार भएको बैठकमा लिइएका निर्णयलाई ‘पहिलो ठोस कदम’ का रूपमा व्याख्या गरेका छन्।
बैठकमा अमेरिकाको संलग्नता कस्तो रहने भन्ने अझै स्पष्ट छैन। फ्रान्सेली राष्ट्रपति माक्रोंले यो केही दिनमै अन्तिम गर्ने बताएका छन्।
ट्रम्पले हालसालै अमेरिकी समर्थन सम्भवतः हवाई सहयोगका रूपमा हुने संकेत दिएका थिए। जेलिन्स्कीले समेत ट्रम्पसँग युक्रेनका आकाशलाई अधिकतम सुरक्षा दिने विषयमा कुरा भएको बताएका छन्।
ट्रम्पले आफू र पुटिनबीच धेरै राम्रो संवाद भइरहेको र चाँडै फेरि कुराकानी गर्ने योजना रहेको बताए। पुटिनले पनि शुक्रबार अमेरिकी राष्ट्रपति ट्रम्पसँग आफ्नो खुला संवाद भइरहेको पुष्टि गरेका छन्।
युक्रेन र उसका सहयोगीहरूका अनुसार कुनै व्यापक शान्ति सम्झौता गर्नुअघि युद्धविराममा सहमति हुनु आवश्यक छ। तर रूस यसबारे सहमत छैन।
रूसको सुदूर पूर्वी सहर भ्लादिभोस्टोकमा आयोजित आर्थिक सम्मेलनमा पत्रकारहरूको प्रश्नको जवाफ दिँदै राष्ट्रपति पुटिनले भने, ‘दीर्घकालीन शान्तितर्फ लैजाने निर्णयहरू हुन्छन् भने युक्रेनमा (विदेशी सैनिकहरूको) उपस्थितिको कुनै अर्थ देख्दिनँ’, उनले भने, ‘दीर्घकालीन शान्तितर्फ लैजाने निर्णय भएमा रूसले त्यसलाई पूर्ण रूपमा कार्यान्वयन गर्नेछ।’
तर युक्रेन र उसका पश्चिमी सहयोगीहरूले उनको यस भनाइलाई विश्वसनीय ठान्ने सम्भावना न्यून देखिन्छ।
पुटिनले युक्रेनसँग शिखर बैठकका लागि आफू तयार रहेको र सुरक्षा प्रदान गर्ने प्रस्तावसमेत गरेका छन्। तर राष्ट्रपति भोलोदिमिर जेलिन्स्कीले मस्कोले यस्तो शिखर बैठक आयोजनामा गम्भीर नभएको प्रमाण भन्दै व्यंग्य गरेका छन्। उनले तटस्थ देशका राजधानीहरूमध्ये कुनै स्थानमा मात्र यस्तो बैठक सम्भव हुने बताएका छन्।
‘हामी जुनसुकै ढाँचा—द्विपक्षीय, त्रिपक्षीय समर्थन गर्छौँ। तर रूसले हरेक पटक यसलाई ढिलाइ गर्ने काम मात्र गरिरहेको छ,’ जेलिन्स्कीले भने।
पश्चिमी नेताहरूका अनुसार रूस अझ बढी युक्रेनी भूभाग कब्जा गर्ने उद्देश्यले समय युद्ध गरिरहेको छ। ४० महिनादेखि जारी रूस-युक्रेन युद्ध अझै रोकिएको छैन।
पुटिनले बुधबार चीनका राष्ट्रपति सी चिनफिङ र उत्तर कोरियाली नेता किम जोङ उनसँग समय बिताएपछि आफ्नो देशको सेना युक्रेनका सबै मोर्चामा अगाडि बढिरहेको दाबी गरेका छन्।
रूसी राष्ट्रपति पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले बीबीसीसँग भने, ‘कुनै पनि विदेशी सेना चाहे ती नाटोअन्तर्गतका हुन् वा नभए पनि रूसका लागि खतरनाक हुनेछन्, किनभने हामी नाटोका शत्रु हौँ।’
बीबीसीबाट

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 