काठमाडौँ- सर्वोच्च अदालतबाट धरौटीमा रिहा हुने आदेश पाएका व्यवसायी शंकर अग्रवाललाई विशेष अदालतले पुनः थुनामा पठाएको छ ।
विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य र सदस्यहरू हेमन्त रावल र विदुर कोइरालाको इजलासले मंगलबार अग्रवाललाई थुनामै राख्ने आदेश दिएको हो। विशेष अदालतको यो आदेशसँगै अग्रवाल पुनः कारागार चलान भएका छन्।
यसअघि, सर्वोच्च अदालतका न्यायाधीशहरू बालकृष्ण ढकाल र नृपध्वज निरौलाको संयुक्त इजलासले गत भदौ ३१ गते अग्रवाललाई १० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
सो इजलासले उच्च अदालत पाटनको थुनछेक आदेश बदर गर्दै अग्रवाललाई धरौटीमा छाड्न भनेको थियो । सर्वोच्चले आफ्नो आदेशमा विभिन्न अभियोगमा अग्रवालको प्रत्यक्ष भूमिका नदेखिएको साथै उनको उमेर र स्वास्थ्य अवस्थालाई पनि आधार बनाएको थियो।



