घ्याम्पेडाँडा-रानीकोट-पनौती सडक पहिरोको जोखिममा

हिमाल प्रेस १२ भदौ २०८२ १६:३५
8
SHARES
घ्याम्पेडाँडा-रानीकोट-पनौती सडक पहिरोको जोखिममा फाइल तस्बिर।

भक्तपुर- भक्तपुरको पर्यटकीय क्षेत्र घ्याम्पेडाँडा-रानीकोट हुँदै पनौती जाने सडक पहिरोका कारण दुर्घटनाको उच्च जोखिममा परेको छ। सूर्यविनायक चोकबाट घ्याम्पेडाँडा, रानीकोट हुँदै काभ्रेको पनौती जोड्ने सडकमा पहिरो गएपछि यातायातका साधन आवागमनमा समस्या पर्नुका साथै पहिरोका कारण दुर्घटनाको जोखिम उच्च भएको हो।

रानीकोटका पर्यटन व्यवसायी एवं भिलेज होटल हाइल्याण्ड रिसोर्टका सञ्चालक रामसुन्दर बकेँले भक्तपुरबाट पनौती जाने एक मात्र वैकल्पिक सडकको रूपमा रहेको घ्याम्पेडाँडा-रानीकोट खण्डमा पहिरो गएको बताए। उक्त खण्ड भएर पनौती जाने छोटो दूरीको सडक पहिरोको उच्च जोखिममा रहेको उनको भनाइ छ।

उनले भने,‘सूर्यविनायकबाट काभ्रेको पनौती पुग्ने छाटो दूरीको यो एक मात्र सडक हो। यो पर्यटकीय सडक पनि हो। सूर्यविनायकको पर्यटकीय क्षेत्रका रूपमा परिचित रानीकोटमा आन्तरिक र बाह्य पर्यटकको चाप बढिरहेको अवस्थमा एक महिनादेखि पटकपटक पहिरो गइरहेको छ। केहिदिन यता खानेपानीको पाइप फुटेर पानी बगेपछि थप पहिरो गएर जोखिम बढेको हो, यहाँ कुनै पनि बेला दुर्घटना हुनसक्ने जोखिम छ।’

पहिरो जान थालेपछि पनौतीबाट दूध, तरकारीलगायत दैनिक खाद्यान्नका सामग्री बोकेर सूर्यविनायक आउने जाने सवारीसाधनमा कमी भएको बकेँले बताए। साथै घ्याम्पेडाँडा र रानीकोट जाने स्थानीयवासी एवं पर्यटकलाई सास्ती भएको उनको भनाइ छ।

पर्यटन व्यवसायी बकेँले भने,‘रानीकोटमा आन्तरिक र बाह्य पर्यटकको आगमन उल्लेख्य हुने गथ्र्यौ, सडकका कारण पर्यटन व्यवसायमा समस्या आएको छ। घ्याम्पेडाँडामाथि रानीकोटसम्म आएको पहिरो हरेक वर्ष म आफैँले डोजर लगाएर पन्छाउने गर्थे। यसवर्ष पनि पन्छाउँदै आएको छु तर सूर्यविनायकबाट घ्याम्पेडाँडासम्मको सडक थप जोखिममा परेको छ।’

उनले हरेक वर्ष घ्याम्पेडाँडा हुँदै रानीकोट जाने सडकमा पहिरो जाने गरेपनि देशको तीनवटै सरकारले बेवास्ता गरेको गुनासो गरे। हरेक दिन पनौतीबाट सूर्यविनायकसम्म सयौँ सवारीसाधान ओहोरदोहोर गर्ने यो सडक उच्च जोखिममा पर्दा पनि पहिरो नियन्त्रण गर्न र पहिरो पन्छाउनेबारे कसैले चासो नदिएको यहाँका पर्यटन व्यवसायीको गुनासो छ।

घ्याम्पेडाँडाका स्थानीय समिर लामाले यो सडकको अवस्था नाजुक भएको, कालोपत्र उप्किएर खाल्डैखाल्डो भएको र साँघुरो भएकाले स्थानीयले जोखिम मोलेर यात्रा गर्नुपरेको गुनासो गरे।

प्रकाशित: १२ भदौ २०८२ १६:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast