विराटनगरमा प्रचण्डले भने- एक जना प्रभाकरले नपत्याएर पार्टी र आन्दोलनको इतिहास रोकिँदैन

हिमाल प्रेस १२ भदौ २०८२ ११:१२ | Thursday, August 28, 2025
विराटनगरमा प्रचण्डले भने- एक जना प्रभाकरले नपत्याएर पार्टी र आन्दोलनको इतिहास रोकिँदैन प्रचण्ड। फाइल तस्बिर।

विराटनगर- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ले नपत्याएर पार्टी र आन्दोलनको इतिहास नरोकिने बताएका छन्। बिहीबार पार्टीको कोशी प्रदेश कमिटी सचिवालय बैठकमा सहभागी हुन विराटनगर आएका प्रचण्डले विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताएका हुन्।

सञ्चारकर्मीले ‘आफ्नैले पत्याएका छैनन् नि’ भन्ने प्रश्न गर्दा उनले भने,‘एक जना प्रभाकरले नपत्याएर यो पार्टी, आन्दोलन, इतिहास रोकिँदैन। यो कुरा हाम्रो स्थायी समितिको बैठकले प्रस्ट पारेको छ।’ उनले सञ्चारकर्मीले विवादलाई चर्काउने गरी प्रश्न गर्ने गरेको गुनासो गर्दै आगामी पदाधिकारी बैठकमा जनार्दनले दिएको अभिव्यक्तिबारे फेरि छलफल हुने पनि बताए।

पछिल्लो समय प्रचण्ड र जनार्दनबीच वाकयुद्ध उत्कर्षमा पुगेको छ। केही दिनअघि प्रचण्डले आफू ‘खाँबो थामेजस्तो लाग्ने, आफूले छाडे गर्ल्यामगुर्लुम ढल्ने’ अभिव्यक्ति दिएका थिए भने जवाफमा जनार्दनले ‘शेषनागले पृथ्वी थामेको भ्रम पालेजस्तो कसैले महसुस गर्नुनपर्ने’ बताएका थिए।

माओवादीले बारम्बार उठाउँदै आएको ‘स्वार्थ समूह’बारे सञ्चारकर्मीले प्रश्न गर्दा प्रचण्डले फेरि निशाना जनार्दनतिरै सोझ्याए। ‘पार्टीको स्वार्थ, लाइन, विधि र पद्धतिभन्दा बाहिर गएर मिटिङ गर्ने र पार्टीविरुद्ध गतिविधि गर्नेहरू स्वार्थ समूह हुन्,’उनले भने।

यसैबीच, लिपुलेक विवादबारे पनि प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको भावी कदमप्रति ध्यान दिनुपर्ने टिप्पणी गरे। आफू प्रधानमन्त्री हुँदा भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग सीमाबारे छलफल भएको स्मरण गर्दै उनले भने, ‘मोदीले पनि संवादमार्फत सिमाना समस्याको समाधान गर्ने प्रतिबद्धता जनाउनुभएको थियो। अहिलेको सरकारले के गर्छ भन्ने हेर्नुपर्नेछ।’

प्रकाशित: १२ भदौ २०८२ ११:१२ | Thursday, August 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast