
काठमाडौँ- सामुदायिक विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरूले यही भदौभित्र अनिवार्य रूपमा सम्पत्ति विवरण बुझाउनुपर्ने भएको छ।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० (१) र अख्तियार दुरुपयोग अनुसन्धान ऐन, २०४८ को दफा ३१ बमोजिम प्रत्येक शिक्षकले आर्थिक वर्ष समाप्त भएको ६० दिनभित्र आफ्नो वा परिवारको नाममा रहेको सम्पत्तिको विवरण अद्यावधिक गरी पेस गर्नुपर्ने कानुनी प्रावधान छ।
शिक्षा विकास तथा समन्वय एकाइ र ७५३ स्थानीय तहहरूलाई राष्ट्रिय किताबखाना (शिक्षक) काठमाडौँबाट पठाइएको निर्देशनअनुसार शिक्षक कर्मचारीहरूले आर्थिक वर्ष २०८१/८२ को सम्पत्ति विवरण नेपाल सरकारले तोकेको ढाँचामा तयार गरी राष्ट्रिय किताबखाना (शिक्षक) मा बुझाउनुपर्नेछ।
सम्पत्ति विवरण व्यक्तिगत रूपमा शिक्षक स्वयंले बुझाउन सक्नेछन्। त्यसबाहेक विद्यालय वा स्थानीय तहमार्फत संकलन गरी सम्बन्धित जिल्लाको शिक्षा विकास तथा समन्वय एकाइमा बुझाउने व्यवस्था मिलाइनेछ। त्यसपछि एकाइहरूले सबै विवरण संकलन गरी यही भदौ २९ गतेभित्र राष्ट्रिय किताबखाना (शिक्षक) मा दर्ता गराउनु पर्नेछ।
यसैगरी करार, अनुदान कोटा, बाल विकास सहजकर्ता तथा विद्यालय कर्मचारीहरूले भने आफ्ना सम्पत्ति विवरण सोही स्थानीय तहमा बुझाउनु पर्नेछ। स्थानीय तहले ती विवरण दर्ता गरी सुरक्षित राख्ने व्यवस्था मिलाउनेछ।
राष्ट्रिय किताबखाना (शिक्षक) का अनुसार सम्पत्ति विवरण बुझाउने अन्तिम दिन सार्वजनिक विदा परेको खण्डमा पनि किताबखाना खुला रहनेछ।
यस्तो छ विवरण र ढाँचा