जनताको जीवनस्तरमा परिवर्तन ल्याउने गरी काम गर्ने मुख्यमन्त्री बानियाँको प्रतिबद्धता

हिमाल प्रेस २८ साउन २०८२ १६:२४
8
SHARES
जनताको जीवनस्तरमा परिवर्तन ल्याउने गरी काम गर्ने मुख्यमन्त्री बानियाँको प्रतिबद्धता

हेटौँडा- बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले जनताको जीवनस्तरमा ठोस परिवर्तन ल्याउने गरी प्रदेश सरकारले कार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। प्रदेशसभाको आजको बैठकको विशेष समयमा उनले जनतालाई प्रत्यक्ष अनुभूति हुने जनमुखी, सेवामुखी, विकासमुखी र आयमुखी कार्यक्रम अघि बढाइने बताए।

मुख्यमन्त्री बानियाँका अनुसार प्रदेश सरकार भ्रष्टाचारमुक्त, सुशासनयुक्त, पारदर्शी र जवाफदेही बन्ने दिशामा प्रयासरत छ। उत्पादन र रोजगारी वृद्धिलाई उच्च प्राथमिकतामा राख्दै समावेशी, दिगो, आत्मनिर्भर र समृद्ध प्रदेश निर्माण सरकारको लक्ष्य रहेको उनले स्पष्ट पारे। विगतमा भएका सकारात्मक कार्यलाई निरन्तरता दिइने उनले आश्वासन दिए।

गरिब तथा विपन्न परिवारका छोराछोरीको शिक्षामा पहुँच बढाउन विशेष पहल गरिने भन्दै मुख्यमन्त्रीले मेडिकल, आयुर्वेदिक र भेटेरिनरी शिक्षा लिन चाहने आर्थिक रूपमा कमजोर विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराइने घोषणा गरे।

‘नाम त निकालेका छन्, तर पढ्न पैसा छैन। यस्ता परिवारका छोराछोरीलाई प्रदेश सरकारले जिम्मा लिएर पढाउनेछ,’ उनले भने,‘अब गरिब निमुखामध्ये दुई जनालाई मेडिकलमा, दुई जनालाई आयुर्वेदमा र दुई जनालाई भेटेरिनरीतर्फ प्रदेश सरकारले पढाउनेछ।’

उनले प्रदेश सरकार भाषणले होइन, कामको आधारमा प्रमाणित हुने बताए। चालु आव २०८२/८३ को बजेटसम्बन्धी संकल्प प्रस्तावलाई आत्मसात गर्दै सरकार अघि बढ्ने जानकारी समेत दिए।

बैठकको विशेष समयमा रामप्रसाद ढुंगाना, शान्ता ढकाल, तारानारायण श्रेष्ठ, उर्मिला सुनुवार, मायादेवी शर्मा, उद्धव थापा, रत्नप्रसाद ढकाललगायत २४ जना प्रदेशसभा सदस्यहरूले राजनीतिक, आर्थिक, सामाजिकलगायत विषयमा आफ्ना धारणा प्रस्तुत गरे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast