आतंकवादी गतिविधि न्यून गर्न भारतले अगुवाई गर्नुपर्छ : यादव

हिमाल प्रेस २५ साउन २०८२ १८:४६ | Sunday, August 10, 2025
आतंकवादी गतिविधि न्यून गर्न भारतले अगुवाई गर्नुपर्छ : यादव फाइल तस्बिर

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आतंकवादी गतिविधि न्यून गर्न भारतले अगुवाई गर्नुपर्ने बताएका छन्।

नेपाल–भारत विकास मञ्चले आइतबार काठमाडौँमा आयोजना गरेको ‘दक्षिण एसियामा आतंकवादको अवस्था र दीर्घकालीन समाधान’ विषयक विचार गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन्।

अध्यक्ष यादवले आतंकवादी गतिविधिलाई कुनै पनि वादसँग जोडेर हेर्न नहुने जिकिर गरे। आतंकवादी गतिविधि राष्ट्रवाद, धर्म वा पृथकतावादी आन्दोलनका नाममा जन्मिए पनि यसको स्वरूप सधैँ अमानवीय र मानवविरोधी भएको उनले बताए।

‘दक्षिण एसियामा कुनै पनि देश आतंकवादबाट अछुतो छैन। तर, पाकिस्तान र अफगानिस्तानमा यसको प्रभाव धेरै छ। भुटान, भारत र बंगलादेशमा पनि यसको गतिविधि देखिन्छ,’ उनले भने।

कार्यक्रममा राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले आतंकवादलाई जन्मन दिनु नहुने भन्दै आफ्नो अधिकारका लागि शान्तिपूर्ण आन्दोलन गर्दा राज्यले बन्दुक चलाएको उदाहरणहरू रहेको जिकिर गरे।

नेपालमा कुनै प्रकारका आतंक हुन नहुने उनको भनाइ थियो। महतोले नेपाल–भारतबीचको जनस्तरको सम्बन्ध कुनै व्यक्ति र राज्यले बनाएको सम्बन्ध नभएको उल्लेख गरे।

नेपाली कांग्रेसका नेता मीनेन्द्र रिजालले दक्षिण एसियामा शान्ति र स्थिरताका लागि भारत–चीन सम्बन्ध मजबुत हुनु अपरिहार्य रहेको बताए। उनले देशभित्रको राजनीतिक विषयलाई आतंकवादसँग जोडेर हेर्न नहुने बताउँदै माओवादीको सशस्त्र आन्दोलनलाई राजनीतिक विद्रोको रूपमा व्याख्या गरे।

रिजालले भारतमाथि हुने कुनै पनि आतंक वा सुरक्षासम्बन्धी आक्रमणमा नेपालको भूमि प्रयोग नहुने स्पष्ट पार्दै भारतका लागि मात्र होइन, कुनै पनि मुलुकविरूद्ध नेपालको भूमि प्रयोग हुन नदिइने जिकिर गरे।

भारत र नेपालको सम्बन्धलाई कुनै पनि मुलुकसँग दाँज्न नसकिने बताउँदै नेता रिजालले अन्य मुलुकहरूसँग पनि सम्बन्ध विस्तार गर्नुपर्नेमा जोड दिए।

प्रकाशित: २५ साउन २०८२ १८:४६ | Sunday, August 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast