जेठो बुढो धानमा ‘ब्लाष्ट’ रोग देखियो

हिमाल प्रेस २३ साउन २०८२ ८:४८
8
SHARES
जेठो बुढो धानमा ‘ब्लाष्ट’ रोग देखियो

पर्वत- रोपेको महिना दिन नपुग्दै यहाँका विभिन्न स्थानमा पोखरेली जेठो बुढो धानमा ब्लाष्ट रोग फैलिएको छ। यहाँको फलेवास नगरपालिकाका-४ मुडिकुवा, वडा नं ५ खानीगाउँ, वडा नं ६ देवीस्थानलगायतका वडामा जेठो बुढो धानमा सो रोग फैलिएको हो।

ब्लाष्ट रोगका कारण पात सुक्ने, डाँठ तथा जरा सुक्दै जाने समस्या देखिएको छ। गाँज राख्ने र सप्रिने बेलामा धानबालीमा समस्या देखिएपछि कृषक चिन्तित बनेका छन्। धान बालीमा आकस्मिक रूपमा रोग देखिएको फलेवास नगर कृषि सञ्जालका अध्यक्ष विनोद भुसालले जानकारी दिए।

सयौँ रोपनी खेतमा ब्लाष्ट रोग देखिएपछि राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ बागलुङका प्राविधिकसहितको टोलीले स्थलगत अनुसन्धान सुरु गरेको छ। गत वर्ष गुबो कुहिने र ढुसी किराकोे प्रकोपले क्षति व्यहोरेका कृषकले यस वर्ष पुनः ब्लाष्ट रोगको सामना गर्नुपरेको छ।

हाल फलेवासका तीन वटा वडामा बढी मात्रामा संक्रमण देखिएको भए पनि अन्य वडाहरूमा समेत देखिन थालेको सञ्जालका अध्यक्ष भुसालले बताए। उनले कृषि प्राविधिकसँग समन्वय गरेर सो रोगको निदानका लागि पहल भइरहेको बताए। अन्य जातको धानमा भन्दा जेठो बुढोमा बढी संक्रमण देखिएको छ।

स्थलगत रूपमा पुगेको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमको प्राविधिक टोलीले राइस ब्लाष्ट र ‘ट्राइसिक्लाजोल’ नामको विषादी सिफारिस गरेका छन्। कार्यालयका प्राविधिक ललित सुनारले धानबालीमा देखिएको समस्याको निदानका लागि दुईवटा विषादी सिफारिस गरिएको जानकारी दिए। उनका अनुसार एक ग्राम विषादी एक ग्राम पानीमा घोलेर छर्किएपछि एक सातामै सुधार आउने बताए।

गत वर्ष पनि यो रोगले सामान्य क्षति भएको थियो। कृषकलाई विषादी निःशुल्क उपलब्ध गराइएको छ। कृषि ज्ञान केन्द्र पर्वतका सूचना अधिकारी सोविता सुवेदीले बर्खे बालीमा आउने समस्या समाधानका लागि स्थानीयतहको कृषि शाखाका साथै ज्ञान केन्द्र र राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमबीच समन्वय र सहकार्य भइरहेको जानकारी दिइन्।

प्रकाशित: २३ साउन २०८२ ८:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast