
काठमाडौँ- शिक्षा र संस्कृतिको समर्पित सेवक, गुल्मी धुर्कोटका स्वर्गीय पण्डित ऋषिराम पन्थीको योगदानलाई स्मरण गर्दै नेपाल सरकारले रु. १० मूल्यको हुलाक टिकट सार्वजनिक गरेको छ।
सूचना, सञ्चार तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङद्वारा बबरमहलस्थित हुलाक सेवा विभागमा आयोजित विशेष समारोहमा टाँचा लगाई उक्त टिकट सार्वजनिक गरिएको हो।
गुल्मीबाट यस्तो गौरव प्राप्त गर्ने उनी पहिलो व्यक्तित्व समेत हुन्। १९७० मा बागलुङबाट शिक्षक जीवन सुरु गरेका पन्थीले १९८१ मा पश्चिम गुल्मीमा पहिलो संस्कृत शिक्षा पाठशाला स्थापना गर्दै संस्कृत शिक्षाको उज्यालो बिउ रोपेका थिए।
सरल जीवन, उच्च विचारका धनी पन्थी राष्ट्रिय चेतना, संस्कार र शिक्षाको उन्नयनमा समर्पित रहे। २०२९ मा स्वर्गारोहण गरेका पन्थीको स्मृतिमा जारी गरिएको हुलाक टिकट सम्पूर्ण देशभर उपलब्ध हुनेछ।