
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले कोदो हाम्रो परम्परागत खाद्यान्न बाली मात्र नभई यसको पोषणीय महत्व रहेको बताएका छन्।
प्रधानमन्त्री ओलीले कोदो दिवसका अवसरमा आज सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै कोदोको उत्पादन बढाउन र परिकारहरू उपभोग गर्न सबैसँग आग्रह गरेका हुन्।
‘कोदोको उत्पादन बढाऔँ, कोदोका परिकारहरू उपभोग गरौँ! कोदो दिवसको शुभकामना! प्रधानमन्त्री ओलीले भनेका छन्। ‘ग्लाइसेमिक इन्डेक्स कम हुने भएकाले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न, यसमा हुने फाइबरले हृदय स्वास्थ्य मजबुत बनाउन मद्दत गर्छ। सिँचाइबिना नै उत्पादन हुनसक्ने यस्तो गुणकारी खाद्यान्नलाई प्रवर्द्धन गर्न सरकारले यस वर्षदेखि साउन १६ गतेलाई राष्ट्रिय कोदो दिवसका रूपमा मनाउने निर्णय गरेको छ,’ प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत भने।