
चितवन- उद्यमी, व्यवसायी तथा इमानदारीपूर्वक काम गर्नेका लागि नेपाल नेपाल उर्वरभूमि रहेको दृष्टान्त अनेकौँ भेटिन्छन्। देशका सिर्जनशील एवं महत्वाकांक्षी युवा पछिल्ला दिनमा जागिर खाने वा विदेशमा रमाउनेभन्दा स्वदेशमै विभिन्न पेसा व्यवसाय तथा उद्यमतर्फ आकर्षित भएको देखिन्छ।
हुँदाखाँदाको शिक्षक पेसासहित सरकारी जागिर छोडी तथा विदेशबाट फर्की आधुनिक तरिकाले सागसब्जीखेती गर्ने वा अन्य पेसामा रमाउँदै राम्रो आयआर्जन गर्नेहरू पनि अहिले त्यतिकै भेटिन्छन्। आआफ्नो गाउँठाउँमा यसरी राम्रो गरेको देखेर त्यसैको सिको गरी विभिन्न पेसा व्यवसायबाट लाभान्वित हुनेहरू पनि प्रसस्त देखिन्छन्।
चितवनको भरतपुरसहित आसपासका क्षेत्रमा गच्छेअनुसारको पेसा व्यवसाय गरी आमसर्वसाधारणका लागि प्रेरणाको स्रोत बन्न सफल अनेकौँ उदाहरणीय भेटिन्छन्। विशेषगरी शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, उद्यागधन्दा, व्यापार व्यवसायमा लगानी गर्ने अधिकांश व्यक्ति आफ्नो आर्थिक तथा सामाजिक हैसियत उच्च बनाइ प्ररेणाको स्रोत बन्न सफल भएका छन्।
यसैमध्येको एक हुन् चितवन भरतपुरका प्राविधिक धारका युवा दिनेश पौडेल। भरतपुरस्थित सरकारी अस्पतालको पाँच वर्षको जागिरपछि पेसा बदलेका फार्मेसी विषयका स्नातक पौडेल यस क्षेत्रका युवाका लागि प्रेरणाका स्रोत भएको भनी भरतपुरवासी गर्व गर्दछन्।
भरतपुर महानगरपालिका–६ इन्द्रपुरीका पौडेल भरतपुरको चौबीसकोठीमा फार्मेसी पसल खोली औषधी व्यापारबाट राम्रो आम्दानी गर्न सफल भएका छन्। औषधीको क्षेत्रमा अध्ययनसहित लामो समय काम गरेका पौडेल चिकित्सकबाट सिफारिस भईआएका औषधीको व्यवस्था गरी बिरामीलाई सक्दो सहयोग गर्ने काममा अहोरात्र खटिरहेका छन्।
२०६५ मा प्रेमबस्ती माविबाट एसएलसी उत्तीर्ण भएका पौडेलले ‘स्कूल अफ हेल्थ साइन्स’ भरतपुरबाट ‘डिप्लोमा इन फार्मेसी’ उत्तीर्ण गरे। त्यसपछि ‘मेडिकल एण्ड टेक्निकल कलेज’बाट फार्मेसीमा स्नातक उत्तीर्ण गरे।
स्नातक गर्नुअघि नै २०७२ देखि उनले भरतपुर अस्पतालको फार्मेसीमा जागिरेका रुपमा काम गरे। अस्पताल विकास समितिको मातहतमा पाँच वर्ष सेवा गरे। त्यसपछि जागिरबाट भन्दा आफैँले व्यवसाय गर्नुपर्छ भन्ने सोचेर उनले जागिर छोडे।
५ वर्षअघिदेखि भरतपुरको चौबीसकोठीमा सांघाई मेडिकल हल सञ्चालन गरेर पौडेलले व्यापार सुरु गरे। योसँगै औषधीको होलसेल व्यापारका लागि फार्मेसी पनि सुरु गरे। पौडेलले भने, ‘जम्मा पाँच लाख लगानी गरेको मेडिकलमा अहिले एक करोडभन्दा बढी लगानी भइसकेको छ।’ फार्मेसीमा विज्ञता हासिल गरेकाले उनकोमा धेरै बिरामी औषधी किन्न आउँछन्। त्यसो त अरु फार्मेसीमा डाक्टरले लेखेको नबुझेपछि पुर्जा (प्रेस्क्रिप्सन) बोकेर बिरामी आफूकहाँ आउने गरेको उनी बताउँछन्।
पौडेलले भने,‘नेपालका ७७ जिल्ला र भारतमा लेखिएका पुर्जा समेत बोकेर म कहाँ औषधी लिन आउँछन्।’ अन्यत्र नपाइने औषधी आफूकहाँ रहेकाले पनि बिहान सबेरैदेखि राति अबेरसम्म औषधी किन्नेको भीड लाग्ने गरेको उनले बताए। पौडेलले भने, ‘म कहाँ नेपालका जुनसुकै डाक्टरले लेखेको औषधि पाइन्छ, अपवादबाहेक कोही पनि रित्तो हात फर्कनुपर्दैन।’
औषधीको ‘होलसेल’ व्यापारमा पनि उनी सन्तुष्ट छन्। उनको औषधी पसलबाट १५ वटा नेपाली उद्योग र सात वटा भारतीय उद्योगको थोक व्यापार हुने गरेको छ। उनले भने, ‘नेपालमा विशेषगरी प्राविधिक विषय पढेकाहरू विदेश जानुपर्दैन, लगानी र कामका लागि यही नेपालमा जस्तो सम्भावना अन्यत्र छैन, स्वदेशमै उद्यम गरी रोजगारीको वातावरा निर्माण गरौँ, यसैमा हामी सबैको कल्याण छ।’ रासस