
इटहरी- तेह्रथुमको लालीगुराँस नगरपालिकाले कक्षा ११ को भर्ना रोक्ने निर्णयबाट पछि हटेको छ। विद्यालय मर्ज र नयाँ भर्ना स्थगनको निर्णयले स्थानीयस्तरमै तीव्र विरोध भएपछि नगर कार्यपालिकाले साउन ९ गते पुनः बैठक बोलाई अघिल्लो निर्णयबाट पछि हटेको हो।
नगरपालिकाले असार २६ गतेको कार्यपालिका बैठकमार्फत नगरभित्र सञ्चालनमा रहेका सामुदायिक विद्यालयमध्ये तीन विद्यालयमा कक्षा ११ मा नयाँ भर्ना नलिने निर्णय गरेको थियो। त्यसअन्तर्गत लालीगुराँस–३ को श्रीमान् स्मारक मावि, वडा–६ को सिंहदेवी मावि र वडा–७ को तीनजुरे माविमा भर्ना रोक्ने भनिएको थियो।
तर, सो निर्णय सार्वजनिक भएसँगै विद्यार्थी, अभिभावक तथा सरोकारवालाले आन्दोलन जारी राखे। निर्णयको विरोधमा सिंहदेवी माविका विद्यार्थी र अभिभावकले नगरपालिका कार्यालय घेराउ गर्दै आन्दोलनमा उत्रिए। ‘शिक्षामा पहुँच र विकल्प’ सुनिश्चित गर्नुपर्ने मागसहित उनीहरूले ध्यानाकर्षणपत्रसमेत बुझाए। तर, आफ्नो निर्णयबाट पछि नहट्ने भन्दै पालिकाले तीन विद्यालयलाई मात्रै भर्ना नलिनु भनेपछि आन्दोलनले उग्ररुप लिएको थियो। जसकारण शुक्रबार बैठक बोलाएर निर्णयबाट पछि हटेको हो।
लालीगुराँस नगरपालिका वडा नं.६ का वडाध्यक्ष रनबहादुर लिम्बूका अनुसार कार्यपालिका बैठकमा यसअघि ६ वटा विद्यालयलाई मर्ज गरेर लैजानुपर्ने, वसन्त मावि र रत्न माविलाई मात्रै कक्षा ११ र १२ मा भर्ना लिने निर्णय गर्न छलफल चलेको थियो। तर, कार्यपालिका सदस्यहरूले भने सबै विद्यालयलाई एकरूपता दिन जोड दिएपछि यसअघि गरिएको निर्णय फिर्ता लिइएको लिम्बूले बताए।
‘कार्यपालिका बैठकमा ६ वटा विद्यालयलाई मर्ज गरेर वसन्तपुर मावि र रत्न माविलाई राख्ने भन्ने कुरा भयो। तर, त्यसरी हुँदैन, जनतासँग प्रत्यक्ष बुझेर मात्रै गर्नुपर्छ भनिएपछि पुरानो निर्णय फिर्ता भएको छ,’उनले भने, ‘अब सिंहदेवी माविसहित सबै विद्यालयलाई भर्ना गर्न बाटो खुलेको छ।’
स्थानीय अभिभावकहरूले विरोध जनाएका कारण निर्णयबाट पछि हटेको हो। नगरपालिकाले विकल्पविना भर्ना रोकेर विद्यार्थीको भविष्य जोखिममा पारेको भन्दै अभिभावकहरू आन्दोलित थिए। ‘स्थानीय जनताको कुरा पनि सुन्नुपर्छ भन्ने भयो,’ उनले भने, ‘यसअघि आन्दोलन पनि भयो। कि सबै विद्यालय मर्ज गर्नुपर्थ्यो, एकाध विद्यालयलाई मात्रै मर्ज गर्न खोजिएको भन्दै आन्दोलन भएपछि बैठक नै बसेर हामीले सबै विद्यालयलाई भर्ना लिनका लागि निर्णय गरेका हौँ।’ अहिले सबै विद्यालयमा भर्ना सुरु भएको वडाध्यक्ष लिम्बूले बताए।
नगरपालिकाका मेयर अर्जुन माबोहाङले सरकारको मापदण्डअनुसार विद्यालय मर्ज गर्न खोजिएको प्रतिक्रिया दिएका थिए। नेपाल सरकारले १५ हजार वटा विद्यालय मर्ज गर्न लागेको र पहाडी जिल्लाका पालिकामा एक शिक्षक बराबर ४० जना विद्यार्थी नपुगेको अवस्थामा त्यस्ता विद्यालय मर्ज गर्ने अभियान रहेको उनले जनाएका थिए। तर, पालिकाबासीले नै नगरपालिकाको निर्णयप्रति असन्तुष्टि जनाएपछि निर्णय फिर्ता लिइएको बताइएको छ।
शिक्षक र विद्यार्थी संख्या अनुपात, स्रोतको सीमितता र नीति पालना गरिएको दाबी गर्दै चालु शैक्षिक सत्रमा ६ नं.वडामा रहेको सिंहदेवी मावि, वडा नं.३ मुसांगेलमा रहेको श्रीमान् स्मारक शिक्षा निकेतन माध्यमिक विद्यालय र ७ नं. वडा फिर्केमा रहेको तीनजुरे माध्यमिक विद्यालयलाई कक्षा ११ मा नयाँ भर्ना नलिनका लागि कार्यपालिकाको बैठकमा निर्णय भएको सूचना जारी गरिएको थियो।
उक्त सूचनापछि भने आन्दोलनरत अभिभावकहरूले निर्णय फिर्ता नभए आन्दोलन जारी राख्ने अडान लिएपछि साउन १० गतेका लागि नगर कार्यपालिकाको बैठक बोलाइएपनि ९ गते नै बैठक बसेर निर्णय फिर्ता लिइएको हो। यद्यपि, पालिकाले यसअघि सामाजिक सञ्जालमा सूचना जारी गरेपनि अहिले निर्णय फिर्ता भएको भने सूचना सार्वजनिक गरेको छैन। तर, विद्यालयलाई भने भर्ना लिनु भनिएको जनाइएको छ। बैठकले असार २६ को निर्णयलाई खारेज गर्दै सबै सामुदायिक विद्यालयलाई कक्षा ११ मा भर्ना लिन बाटो खुला गरेसँगै आइतबारदेखि भर्ना प्रक्रिया पुनः सुरु भएको छ।
लालीगुराँस नगरपालिकास्थित २ नं.वडामा रहेको वसन्त मावि वसन्तपुर बजार, ३ नं. वडामा रहेको श्री मान् स्मारक शिक्षा निकेतन मुसांगेलमा, ४ नं. वडामा रहेको सार्वजनिक मावि फुलेक, ५ नं.वडामा रहेको सिंहबाहिनी मावि दाँगपा, ६ नं. वडामा रहेको सिंहदेवी मावि, ७ नं.वडामा रहेको कृष्ण मावि चाम्चिम र तीनजुरे मावि फिर्के र ८ नं.वडामा रहेको रत्न मावि सोल्मासहित आठ विद्यालयमा कक्षा ११ र १२ अध्यापन हुँदै आएको छ।
यो पनि
लालीगुराँस नगरमा कक्षा ११ को भर्ना विवाद, विद्यार्थी र अभिभावक आन्दोलित