जनप्रतिनिधिलाई पक्राउ गरेर हली बनाएपछि…

हिमाल प्रेस १३ साउन २०८२ १५:४५ | Tuesday, July 29, 2025
जनप्रतिनिधिलाई पक्राउ गरेर हली बनाएपछि…

काठमाडौँ- सर्लाही-२ बाट निर्वाचित सांसद रामप्रकाश चौधरी र मधेश प्रदेशसभा सदस्य उर्मिला सिंहलाई मंगलबार नेपाल प्रहरीको भेषमा आएका महिलाले पक्राउ गरे।

त्यसपछि उनीहरूलाई गाउँलेले हलो जोत्न लगाए। अझ रोचक त महिलाहरू नै हल गोरु बनेर हलो तानेका थिए। लामो समयदेखि वर्षा हुन नसकेपछि ईश्वरपुर नगरपालिका-९ रामनगरका स्थानीयले जनप्रतिनिधिलाई पक्राउ गरेर हली बनाएका हुन्।

स्थानीयले कुनै कारबाही गरेको वा जबर्जस्ती गरेका भने होइनन्। स्थानीय थारू समुदायमा लामो समयसम्म पानी परेन भने गाउँका महाजन, पटवारी र मुखियाजस्ता गन्यमान्यलाई त्यसरी पक्राउ गरी हलो जोत्न लगाउने प्राचीन परम्परा हो। सो समुदायमा पूजा गरेपछि इन्द्रदेवता खुसी हुने र पानी पर्ने विश्वास रहिआएको छ।

खडेरी पर्दा स्थानीयले सांसद मात्रै होइन वडाअध्यक्षलगायतका गन्यमान्यलाई समेत हली बनाएर रोपाइँको नक्कलको अभ्यास गराएका थिए। महिलाले दुवै सांसदलाई घरबाटै पक्राउ गरेर खेतमा पुर्‍याएका थिए।

हलो जोत्ने क्रममा हलीको भूमिकामा रहेका जनप्रतिनिधिलाई गोरुको भूमिकामा जुवामा नारिएका महिलाले गोरुले झैँ लात्तीले हिर्काउने र रनफन पारेको सांसद चौधरीले बताए।

मधेश प्रदेशमा लामो समयदेखि वर्षा कम हुँदा सुक्खापन बढेर धान रोपाइँ प्रभावि बनेको छ। ‘गएराति परेको हल्का वर्षाबाट कृषकलाई केही राहत पुगे पनि रोपाइँका लागि मनसुन अनुकूल नहुँदा बीउ डढेको र रोपिएका धानका रोपो चिराचिरा परिसकेको छ,’ सांसद चौधरीले भने।

प्रकाशित: १३ साउन २०८२ १५:४५ | Tuesday, July 29, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast