काठमाडौँ महानगरद्वारा छात्रवृत्ति प्रवेश परीक्षामा १६,१३७ विद्यार्थी छनोट

हिमाल प्रेस १ साउन २०८२ १४:०० | Thursday, July 17, 2025
काठमाडौँ महानगरद्वारा छात्रवृत्ति प्रवेश परीक्षामा १६,१३७ विद्यार्थी छनोट

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले शैक्षिक सत्र २०८२/०८३ का लागि कक्षा ११ र १२ मा संस्थागत विद्यालयमा छात्रवृत्ति कोटामा अध्ययन गर्न इच्छुक विद्यार्थीका लागि लिएको आवेदन प्रक्रियामा देशभरका ७७ जिल्लाबाट जम्मा १७,२२९ आवेदन प्राप्त भएकोमा १६,१३७ जना विद्यार्थी छनोट भएका छन्।

प्राप्त आवेदनहरूमध्ये नागरिकता वा जन्मदर्ता, सार्वजनिक विद्यालयमा अध्ययन गरेको प्रमाण, छात्रवृत्तिमा अध्ययन गरेको प्रमाण वा काठमाडौँ महानगरभित्र स्थायी बसोबास गरेको प्रमाण नपुगेका १,०९२ आवेदन अस्वीकृत गरिएको हो।

महानगरको शिक्षा विभागका अनुसार छनोटमा परेका विद्यार्थीहरूमध्ये ११,५९० जना विज्ञान संकायका लागि, ४,१६४ जना व्यवस्थापन संकायका लागि, ३२ जना मानविकी, ९५ जना शिक्षा र २५६ जना कानुन संकायका लागि छन्। यी विद्यार्थीहरूलाई फोन र इमेलमार्फत जानकारी दिइसकिएको छ।

छनोट भएका विद्यार्थीहरूले साउन १ गतेदेखि काठमाडौँ महानगरपालिकाको वेबसाइट entrance.kathmandu.gov.np मा गई “एडमिट कार्ड” विकल्पबाट प्रवेश पत्र डाउनलोड गर्न सक्नेछन्। प्रवेश पत्रमा परीक्षा केन्द्र, मिति र समयसम्बन्धी विवरण समावेश हुनेछ।

छात्रवृत्तिका लागि प्रवेश परीक्षा साउन ३ गते बिहान ८ बजेदेखि १० बजेसम्म सञ्चालन हुनेछ। परीक्षा कक्षा १० को पाठ्यक्रममा आधारित हुनेछ र कुल १०० बहुवैकल्पिक प्रश्नहरू सोधिनेछन् जसमा गणित, विज्ञान र अंग्रेजीबाट ३०/३० प्रश्न र सामान्य ज्ञानबाट १० प्रश्न रहनेछ। परीक्षा उत्तीर्ण गर्न न्यूनतम ४० प्रतिशत अंक अनिवार्य गरिएको छ भने गलत उत्तरका लागि कुनै नकारात्मक अंकन गरिने छैन।

परीक्षापछि प्रकाशित हुने मेरिट सूचीका आधारमा छात्रवृत्ति वितरण गरिनेछ। यस कार्यक्रमले आर्थिक रूपमा कमजोर तर मेधावी विद्यार्थीहरूलाई आफूले रोजेको संस्थागत विद्यालयमा कक्षा ११ र १२ अध्ययन गर्न सहयोग पुर्‍याउने विश्वास महानगरको छ।

प्रकाशित: १ साउन २०८२ १४:०० | Thursday, July 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast