निःशुल्क अनलाइन कक्षा सुरु, एसईईमा ग्रेडवृद्धि हाम्रो उद्देश्य : अध्यक्ष शाही

हिमाल प्रेस ३१ असार २०८२ ११:५७
198
SHARES
निःशुल्क अनलाइन कक्षा सुरु, एसईईमा ग्रेडवृद्धि हाम्रो उद्देश्य : अध्यक्ष शाही

काठमाडौँ- एसईई ग्रेडवृद्धि परीक्षामा सहभागी हुने विद्यार्थीहरूका लागि नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय समितिद्वारा एक महिनाको निःशुल्क अनलाइन कक्षा सुरु गरिएको छ। सोमबार साँझ भर्चुअल रूपमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले अनलाइन कक्षाको उद्घाटन गरे।

उद्घाटन कार्यक्रममा बोल्दै नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष हंसबहादुर शाहीले विद्यार्थीलाई गुणस्तरीय र समावेशी शिक्षा प्रदान गर्ने उद्देश्यले अनलाइन कक्षा सुरु गरिएको जानकारी दिए। ‘अनलाइनको माध्यमबाट विद्यार्थीलाई समान पहुँच सुनिश्चित गर्न सकिन्छ भन्ने हेतुले यो कार्यक्रम सुरु गरेका हौं,’ अध्यक्ष शाहीले भने, ‘एक महिनासम्म सञ्चालन हुने यो कक्षाबाट विद्यार्थीले २०८२ सालको साउन २९ गते हुने ग्रेडवृद्धि परीक्षाको तयारी गर्न सक्नेछन्।’

उनका अनुसार गणित, विज्ञान, अंग्रेजी र सामाजिक विषयमा दैनिक एक-एक घण्टा अनलाइन कक्षा सञ्चालन गरिनेछ। सामाजिक विषयको कक्षा बिहान हुने छ भने बेलुकी ६ बजेदेखि ९ बजेसम्म अन्य विषयको कक्षा हुनेछ।

जुममार्फत एक हजार विद्यार्थीसम्म जोडिन सक्ने व्यवस्था गरिएको छ भने बाँकी विद्यार्थीले फेसबुक र युट्युब लाइभमार्फत अध्ययन गर्न सक्नेछन्। ‘नेपाली विषयको कक्षा हाल सञ्चालन गरिएको छैन तर माग आएमा बिहान सुरु गरिनेछ,’ शाहीले भने।

कार्यक्रममा सातवटै प्रदेशको प्रतिनिधित्व हुनेगरी विषय विज्ञ शिक्षकलाई समावेश गरिएको छ। चारवटा विषयका लागि छुट्टाछुट्टै समिति गठन गरिएको र कुन दिन के पढाउने भन्ने तालिका पनि तय भइसकेको जनाइएको छ।

‘हाम्रो तत्कालको उद्देश्य एसईईमा विद्यार्थीको ग्रेडवृद्धि हो,’ अध्यक्ष शाहीले भने, ‘राज्यको नीति अनुसार निःशुल्क र अनिवार्य शिक्षा कार्यान्वयनमा पनि यस कार्यक्रमले योगदान पुर्‍याउनेछ।’

शिक्षक संगठनले विगतमा पनि विद्यार्थीमैत्री कार्यक्रम सञ्चालन गर्दै आएको स्मरण गराउँदै अध्यक्ष शाहीले भने,‘हामी प्रविधिमा जानुपर्छ भन्ने सोचका साथ विद्यार्थीलाई डिजिटल सामग्री प्रयोग गरेर पढाउँदै आएका छौं।’

कार्यक्रममा नेपाल शिक्षक महासंघका महासचिव तुलाबहादुर थापाले विज्ञान, गणित, अंग्रेजी र सामाजिक विषयमा असफल भएका विद्यार्थीहरूलाई लक्षित गरी सुरु गरिएको यो प्रयासले उनीहरूमा सकारात्मक ऊर्जा थप्ने विश्वास व्यक्त गरे।

यो पनि

एसईईमा कमजोर विद्यार्थीलाई लक्षित एक महिने अनलाइन कक्षा सुरु, सभामुख घिमिरेले गरे उद्घाटन


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast