पर्साको दुग्धेश्वनाथ महादेव मन्दिरमा दशनार्थीको भीड

हिमाल प्रेस ३० असार २०८२ १२:५६ | Monday, July 14, 2025
पर्साको दुग्धेश्वनाथ महादेव मन्दिरमा दशनार्थीको भीड प्रतिनिधिमूलक तस्बिर

पर्सा- पर्सा राष्ट्रिय निकुञ्जको संरक्षण क्षेत्रभित्र पर्ने दुग्धेश्वनाथ महादेव मन्दिरमा आज बिहानदेखि दर्शनार्थीको घुइँचो लागेको छ। आज साउन कृष्ण चतुर्थी भएकाले मन्दिरमा स्वदेशी र भारतीय दर्शनार्थीहरूको भीड लागेको छ।

पर्टेवा सुगौली गाउँपालिका अध्यक्ष दिनेशकुमार चौधरीले दुग्धेश्वनाथ महादेव मन्दिर अर्थात् रामभौरी भाथा धाममा यही असार २७ गतेदेखि नै दशनार्थीहरूको सहभागी हुन थालेका जानकारी दिए।

‘रामभौरी भाथाधाम मधेश प्रदेशका सर्वसाधारण जनताको मात्रै नभएर छिमेकी मुलुक भारतको विहार राज्यका जनताको आस्था र धरोहरका रूपमा रहँदै आइरहेको छ,’ उनले भने,‘यहाँ सोमबार दर्शन गर्ने दशनार्थीको घुइँचो नै लाग्ने गर्छ।’

अध्यक्ष चौधरीले साउन महिनाभरि चल्ने मेलाका लागि पालिकाले सडक, खानेपानी, शौचालयलगायतका अत्यावश्यक अस्थायी संरचना तयार पारिसकेको जानकारी दिए। ‘साउन महिनाभरि लाखौँ संख्यामा दशनार्थीहरू आउने गर्नुहुन्छ,’ उनले भने, ‘हामीले स्थानीय प्रशासनसँगको समन्वयमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको आवश्यक सुरक्षा व्यवस्थासमेत मिलाएका छौँ।’

मेला समितिका अध्यक्ष गेनालाल राउत कुर्मीले मन्दिरको दीर्घकालीन विकास र संरक्षणका लागि आवश्यक काम हुन नसकेको गुनासो गरे। आज बिहानदेखि दर्शनार्थी महादेव भगवान्को दर्शन गर्न मन्दिर परिसरमा लामबद्ध भएको उनले बताए।

‘भारतका विभिन्न राज्यबाट आइतबार बेलुका नै हजारौँ दर्शनार्थी मन्दिर प्राङ्गणमा आइसक्नुभएको छ। टाढा–टाढाका दर्शनार्थी अघिल्लो दिनमै आउने गर्नुहुन्छ। रातभर महादेवको आराधाना गरेर बिहानै जल चढाएर पूजापाठ गरेर जाने गर्नुहुन्छ,’ उनले भने।

पर्सा राष्ट्रिय निकुञ्जभित्रको जंगलको यात्रा गरेपछि चुरेपहाडको डाँडामा दुग्धेश्वरनाथ महादेव र भगवती पार्वतीको मन्दिर अवस्थित छ। चुरेको फेदी र चारकोसे झाँडीबीचको नदीभन्दा केही अग्लो भागमा महादेव र पार्वतीको मन्दिर रहेको छ।

मन्दिर दर्शन गर्न दशनार्थी चारपाङ्ग्रे सवारीसाधन, ट्याक्टर, मोटरसाइकलमा तथा केही व्यक्तिहरु पैदल हिँडेरै आउने गर्छन्।

प्रकाशित: ३० असार २०८२ १२:५६ | Monday, July 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast