
जनकपुरधाम- नेपाली कांग्रेसका पूर्वउपसभापति एवं प्रतिनिधिसभा सदस्य विमलेन्द्र निधिले राजर्षिजनक विश्वविद्यालयको भवन निर्माणमा नेकपा एमालेका शीर्ष नेताहरूले अवरोध गरिरहेको आरोप लगाएका छन्।
शनिबार प्रेस युनियन धनुषाले जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले एमाले धनुषा निर्वाचन क्षेत्र नम्बर ३ र क्षेत्र नम्बर ४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूले विश्वविद्यालयको भवन निर्माणमा अवरोध गरिरहेको आरोप लगाए।
धनुषा क्षेत्र नम्बर ३ बाट एमालेकी जुलीकुमारी महतो र क्षेत्र नम्बर ४ बाट रघुवीर महासेठ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।
कांग्रेसका तत्कालीन मन्त्री महन्थ ठाकुरको नेतृत्वमा विश्वविद्यालय स्थापनार्थ कार्यदल गठन भएको उनले स्मरण गरे। विश्वविद्यालय स्थापनका लागि ठाकुरले खेलेको भूमिकाको उनले प्रशंसा गरे।
विश्वविद्यालय स्थापनाका लागि प्रयास सुरू गर्दा जनकपुरकै केही वुद्धिजीविहरूले विरोध गरेको उल्लेख गर्दै उनले धेरै उतारचढावका बाबजुद सम्भव भएको जिकिर गरे।
निधिले संसद विघटन भएको अवस्थामा आफू शिक्षामन्त्री छँदा अध्यादेशमार्फत राजर्षिजनक विश्वविद्यालय स्थापनाका लागि कानुन बनाएको उल्लेख गरे।
उनले नेपाल सरकारको स्वामित्वमा सञ्चालन हुने भनेर ऐनमै उल्लेख भएको राजर्षिजनक विश्वविद्यालयमात्र रहेको जानकारी गराए। जनकपुरस्थि राराब क्याम्पसका प्राध्यापकहरूले दिएका सुझावअनुसार राजर्षिजनक विश्वविद्यालयको ऐन बनाइएको उनले उल्लेख गरे। राराब क्याम्पस आधार क्याम्पस हुने भनेर राजर्षि विश्वविद्यालयको ऐनमै उल्लेख भए पनि हालसम्म यसअन्तर्गत आउन नसक्नु दुःखद रहेको निधिले बताए।
उनले संसदबाट राजर्षि विश्वविद्यालय स्थापनाको निर्णय हुँदा मुलुकमा प्रजातन्त्र बहाली भएजस्तै आफूलाई खुसी लागेको उल्लेख गरे।
सुरूमा मुजेलियामै विश्वविद्यालयको मुख्य कार्यालय स्थापना गर्ने प्रयास गरिए पनि त्यहाँ विभिन्न कार्यालयहरू रहेकाले सम्भव हुन नसकेको उनले बताए।
मुजेलियामा सम्भव नभएपछि विश्वविद्यालय भवन निर्माणका लागि हाल नगराईन नगरपालिकाको फुलगामास्थित मनिहारीमा गुठी अधिनस्त जग्गा छुट्याइएको निधिले जानकारी दिए।
के हो विवाद?
राजर्षिजनक विश्वविद्यालयको भवन निर्माणका लागि जनकपुरको छिमेकी नगराईन नगरपालिकाको फुलगामास्थित मनिहारी भन्ने ठाउँमा गुठी अधिनस्त जग्गा लिजमा लिई विश्वविद्यालय भवन निर्माण गर्ने सम्झौता भइसके पनि निर्माण कार्य अगाडि बढ्न सकेको छैन।
विश्वविद्यालयका उपकुलपति डा. अमरप्रसाद यादव केही राजनीतिक दलका नेताहरूको दबाब र प्रभावमा परी निर्माण कार्य अगाडि बढाउन नचाहेको बताइएको छ।
विश्वविद्यालय स्रोतका अनुसार कांग्रेसका सहमहामन्त्री महेन्द्र यादव आफ्नो निर्वाचन क्षेत्र नम्बर ४ मा पर्ने मुजेलियामा भवन निर्माणका लागि उपकुलपति यादवमाथि दबाब दिइरहेका छन्।
सहमहामन्त्री निकटस्थ कांग्रेस मधेश प्रदेश समिति सदस्य बजरंग यादवले शुक्रबार प्रेस विज्ञप्ति निकालेर मुजेलियामै विश्वविद्यालय भवन निर्माण गर्न माग गरेका थिए। त्यस्तै एमालेका केही नेताहरूले पनि लिजमा लिइएको मनिहारीस्थित जग्गामा विश्वविद्यालय भवन निर्माण नगर्न उपकुलपतिमाथि दबाब दिइरहेको बताइएको छ।
केही दिनअघि कांग्रेस धनुषाका सभापति योगेन्द्र पंजियारको नेतृत्वमा ध्यानाकर्षणपत्र बुझाउन गएका जिल्ला नेताहरूसमक्ष उपकुलपति यादवले राजनीतिक दबाबका कारण विश्वविद्यालय भवन निर्माण प्रक्रिया अगाडि बढ्न नसकेको बताएका थिए। यद्यपि उनले कुनै राजनीतिक दल र नेताको नाम लिएनन्।
हाल जनकपुरधाम–८ मा भाडाको घरमा सञ्चालन भइरहेको विश्वविद्यालयको आफ्नै भवन बनाउन केही अघि गुठी संस्थानसँग सम्झौता भएको छ।
विश्वविद्यालय व्यवस्थापन र गुठी संस्थान केन्द्रीय कार्यालयबीच भवन निर्माणका लागि गत वर्ष सम्झौता भएको हो। वार्षिक पाँच लाख रुपैयाँ केन्द्रीय गुठी संस्थानलाई तिर्नेगरी विश्वविद्यालय भवन निर्माणका लागि मनिहारीमा ९ बिघा १४ कठ्ठा १३ धुर जग्गा प्राप्त गर्ने सम्झौता छ।
विश्वविद्यालय भवन निर्माणका लागि बजेटको समेत अभाव नरहे पनि उपकुलपति यादव राजनीतिक दबाबमा परेर निर्माण कार्य अगाडि बढाउन चाहेका छैनन्।
राजर्षि जनक विश्वविद्यालयको जग बसाल्न विमलेन्द्र निधिले लिएको त्यो अडान