
भक्तपुर- शिक्षा तथा मानव स्रोत विकास केन्द्र, सानोठिमीले देशभरका स्थानीय तहहरूलाई शिक्षक र प्रारम्भिक बालविकास सहजकर्ताको तलब तथा पारिश्रमिक भुक्तानीसम्बन्धी निर्देशन दिएको छ।
केन्द्रले स्थानीय तहहरूले माग गरेको थप तलब तथा पारिश्रमिकको रकम वित्तीय हस्तान्तरण भइसकेको जनाउँदै उक्त रकम निकासा गर्दा स्वीकृत दरबन्दी तथा राहत कोटाका आधारमा मात्रै निकासा गर्न आग्रह गरेको छ।
केन्द्रको सूचनामा भनिएको छ,’तलबभत्ता तथा पारिश्रमिक भुक्तानीको क्रममा स्वीकृत दरबन्दी एवम् राहत कोटामा कार्यरत शिक्षकहरूको संख्या तथा प्रारम्भिक बालविकास कार्यक्रमअन्तर्गत कार्यरत सहजकर्ताको कोटा केन्द्रबाट प्रमाणित भएको हुनुपर्नेछ। उक्त प्रमाणिकरणको आधारमा मात्रै रकम निकासा गर्न अनुरोध छ।’
निर्देशन अनुसार यस्ता आधार नपुगी रकम निकासा भएमा त्यसको जिम्मेवारी सम्बन्धित स्थानीय तह स्वयंले बेहोर्नुपर्नेछ। केन्द्रले यो निर्णय यही असार १७ गतेको बैठकबाट गरेको हो।