
बुटवल- लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०८२/०८३ को बजेट बहुमतले पारित भएको छ। बुधबार बसेको प्रदेश सभाको छैठौं अधिवेशनको १७औं बैठकले उक्त बजेट पारित गरेको हो।
सरकारले आगामी आर्थिक वर्षका लागि ३८ अर्ब ९१ करोड रुपैयाँको बजेट प्रस्तुत गरेको थियो। सोही बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए। उक्त प्रस्ताव बहुमतले पारित भएको घोषणा सभामुख तुलाराम घर्ती मगरले गरेका हुन्। यसअघि प्रदेशसभामा विपक्षी र सत्तापक्षकै सांसदहरूले बजेट मन्त्रीमुखी भएकाे भन्दै असन्तुष्टि व्यक्त गरेका थिए।
प्रश्नकाे जवाफ दिँदै मुख्यमन्त्री चेतनारायण आचार्यले बजेट कुनै हावादारी आधारमा नभई वैज्ञानिक विश्लेषण, आवश्यकता र औचित्यमाथि आधारित भएर ल्याइएको बताए। उनले सुझावहरूलाई सरकारले ग्रहण गर्ने, नमिलेका विषयहरूलाई मिलाउने गरी सरकार अघि बढ्ने बताए।
पारित बजेटमध्ये चालु खर्चतर्फ १२ अर्ब १ करोड ४७ लाख ८६ हजार रुपैयाँ (कुल बजेटको ३०.८८ प्रतिशत) र पुँजीगत खर्चतर्फ २३ अर्ब ४७ करोड १४ लाख ६५ हजार रुपैयाँ (कुल बजेटको ६०.३२ प्रतिशत) विनियोजन गरिएको छ। यसअघि मंगलबार प्रमुख प्रतिपक्षी नेकपा माओवादी सहितका चार दलले बहिष्कार गरेका थिए। तर सत्तापक्षमै रहेकाे लाेसपा र जसपा नेपाललाई सरकारलाई दिएकाे समर्थन फिर्ता लिन लगाई प्रतिपक्षीय बेञ्चमा राखेर संसद् बैठक चलाइएकाे थियाे।