संगीत र नाटक मनोरञ्जनका साधनमात्र नभई मौलिक पहिचान पनि हो : राष्ट्रपति

हिमाल प्रेस ११ असार २०८२ १७:४३ | Wednesday, June 25, 2025
संगीत र नाटक मनोरञ्जनका साधनमात्र नभई मौलिक पहिचान पनि हो : राष्ट्रपति राष्ट्रपति रामचन्द्र पौडेल

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको नाटक, गीत र संगीतमा रहेको विविधताले राष्ट्रिय एकताको भावनालाई सुदृढ बनाउन योगदान दिएको बताएका छन्।

बुधबार शितल निवासमा नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०८१ वितरण समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले नेपालको विविधतायुक्त समाजमा रहेका विभिन्न जातजातिका मौलिक भाषा, संस्कृति, नाटक, गीत र सङ्गीतमा रहेको विविधताले नेपाली समाजलाई एकढिक्का बनाउँदै राष्ट्रिय एकताको भावनालाई सुदृढ बनाउन योगदान दिएको बताए।

राष्ट्रपति पौडेलले नेपालको अनुपम भौगोलिक विविधता जस्तै नेपाली समाज पनि विविधतायुक्त भएको उल्लेख गरे। नेपाल जस्तो विविध जातजाति, भाषाभाषी र सांस्कृतिक विशेषता रहेको मुलुकका लागि संगीत र नाटक केवल मनोरञ्जनका साधनमात्र नभई मौलिक पहिचानको धरोहर पनि भएको उनले बताए।

राष्ट्रपति पौडेलले मौलिक भाषा, संस्कृति, नाटक, गीत र संगीतका माध्यमबाट नेपाली लोकजीवन, मौलिकपनको विकास, विस्तार, संरक्षण र प्रवद्र्धन गर्नु सबैको कर्तव्य भएको धारणा राखे।

कार्यक्रममा राष्ट्रपति पौडेलले नेपाल संगीत तथा नाट्य दीर्घ साधना सम्मानबाट वरिष्ठ गायक दिप श्रेष्ठलाई, रंगमञ्च विधातर्फ वरिष्ठ रंगकर्मी हरिबहादुर थापालाई, संगीत विधातर्फ वरिष्ठ गायिका कुन्ती मोक्तानलाई, नाट्य विघातर्फ वरिष्ठ नाट्यकर्मी वेदकुमारी न्यौपानेलाई सम्मान गरे।

त्यस्तै नृत्य विधातर्फ वरिष्ठ नृत्य निर्देशक भुवनदास श्रेष्ठ, नृत्य खोज तथा अनुसन्धान विधातर्फ वरिष्ठ अनुसन्धानकर्ता कृष्णप्रसाद पौडेल, लोकसंगीत विधातर्फ वरिष्ठ लोक गायक नारायण रायमाझी, परम्परागत तथा शास्त्रीय संगीत विधातर्फ कुशेश्वर राई र वाद्यबादन विधातर्फ वरिष्ठ वाद्ययवादक राजु अग्रवाललाई सम्मान गरिएको छ।

प्रकाशित: ११ असार २०८२ १७:४३ | Wednesday, June 25, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast