बाल विकास शिक्षक र विद्यालय कर्मचारीको तलब बढाइएको छ : शिक्षामन्त्री पन्त

हिमाल प्रेस १० असार २०८२ १५:४० | Tuesday, June 24, 2025
बाल विकास शिक्षक र विद्यालय कर्मचारीको तलब बढाइएको छ : शिक्षामन्त्री पन्त

 काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले प्रारम्भिक बाल विकास (ईसीडी) सहजकर्ता, विद्यालय कर्मचारी र विद्यालय सहयोगीहरूका लागि प्रदान गरिने मासिक अनुदान रकम वृद्धि गरिएको जानकारी गराएका छन्।

प्रतिनिधिसभाको सोमबारको बैठकमा मन्त्रालयको बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै मन्त्री पन्तले अनुदान वृद्धि गरिएको उल्लेख गरेका हुन्। उनका अनुसार  ईसीडी सहजकर्ताको पारिश्रमिक १० हजारबाट बढाएर १२ हजार, विद्यालय कर्मचारीको १३ हजार ५ सयबाट बढाएर १५ हजार र विद्यालय सहयोगीको ८ हजारबाट बढाएर १० हजार पुर्‍याइएको छ। यसका लागि चालू आर्थिक वर्षमा कुल १० अर्ब १६ करोड १५ लाख ५९ हजार खर्च हुने मन्त्री पन्तले जानकारी दिए।

त्यसैगरी, विद्यालयमा दिइने दिवा खाजा कार्यक्रम अन्तर्गत कर्णाली अञ्चलका जिल्लाहरूमा हालसम्म दिइँदै आएको २५ प्रतिदिन प्रतिविद्यार्थीमा ५ थप गरी अन्य जिल्लाहरूसँग बराबरी गर्दै ३० पुर्‍याइएको छ।  अन्य जिल्लाहरूमा पनि प्रतिदिनको दर रु १५ बाट वृद्धि गरी २० पुर्‍याइएको छ।

शिक्षक, विद्यार्थी र बालबालिकालाई पोषणयुक्त खाजा दिन र स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न ‘स्थानीय उत्पादनमा आधारित पोषणयुक्त विद्यालय दिवा खाजा प्रारुप २०८१’ कार्यान्वयनमा ल्याउने तयारी गरिएको मन्त्री पन्तले बताए।

यस कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न १०० वटा स्थानीय तहमा, गाउँपालिकाका लागि ३ लाख र नगरपालिकाका लागि ४ लाखका दरले बजेट प्रस्ताव गरिएको छ। यस प्रारुपले स्थानीय तहको सामाजिक, भौगोलिक र आर्थिक परिवेशअनुसारको खाजा कार्यक्रम सञ्चालन गर्न सहयोग पुर्‍याउने मन्त्री पन्तले बताए।

प्रकाशित: १० असार २०८२ १५:४० | Tuesday, June 24, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast