सरकारलाई दिएको समर्थनबारे जसपा नेपालले पुनः विचार गर्ने

हिमाल प्रेस ९ असार २०८२ १५:३३
34
SHARES
सरकारलाई दिएको समर्थनबारे जसपा नेपालले पुनः विचार गर्ने

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थनबारे पुनः विचार गर्ने भएको छ।

ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा दुई दिनसम्म चलेको जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठकले यस्तो निर्णय गरेको हो।

जसपा नेपालका प्रवक्ता मनिष सुमनले ओली नेतृत्वको सरकारलाई दिएको समर्थनबारे पुनः विचार गर्न बैठकले संघीय संसदी दललाई निर्देशन गरेको जानकारी दिए।

ओली नेतृत्वको सरकार देशमा भ्रष्टाचार नियन्त्रण, सुशासनको प्रत्याभूति, संविधान संशोधन, आर्थिक अवस्थामा सुधारलगायतका कार्यमा पूर्णतः असफल रहेको जसपा नेपालले ठहर गरेको छ।

‘वर्तमान सरकार भ्रष्टाचार नियन्त्रण गर्न असफल भएको छ, आम नागरिकलाई सुशासनको प्रत्याभूति दिलाउन सकेको छैन, संविधान संशोधनको जगमा सरकार निर्माण भए पनि त्यसतर्फ चासो देखाएको छैन,’ सुमनले भने,‘त्यसैले सरकारलाई दिएको समर्थनमाथि पुनःविचार गर्ने निर्णय बैठकले गरेको छ। यसका लागि संसदीय दललाई निर्णय गर्न कार्यकारिणी समिति बैठकले निर्देश गरेको छ।’

त्यस्तै जसपा नेपालको कार्यकारिणी समिति बैठकले भाद्र २५ देखि २७ गतेभित्र सातवटै प्रदेशमा पार्टीको प्रदेश अधिवेशन गर्ने निर्णय गरेको छ। प्रदेश अधिवेशन सम्पन्न गर्न बैठकले प्रदेश निर्वाचनसम्बन्धी निर्देशिका, २०८२ वैठकले सर्वसम्मतिका साथ पारित गरेको छ।

असार २८ गते हुने दलित, पिछडावर्ग, थारू, आदिवासी र अल्पसंख्यक परिसंघको राष्ट्रिय भेला एवं अन्तरक्रिया कार्यक्रममा पार्टीको तर्फबाट सहयोग र समन्वयका लागि बैठकले उपाध्यक्ष विधुत बज्राचार्यको संयोजकत्वमा रेखा यादव, राजकुमार राई, लाक्पा शेर्पा, तारा विश्वकर्मा, खालिद सिद्दिकी र पेशल ढकाल सम्मलित कार्यदल गठन गरेको छ।

विभिन्न पार्टी परित्याग गरी जसपा नेपाल प्रवेश गरेका शशिकपुर मियाँ, करिमा बेगम, सुधिरनाथ पाण्डेय, कैलास गुरुङ र निलम यादवलाई बैठकले केन्द्रीय सदस्यमा मनोनीत गरेको छ।

त्यस्तै सप्तरीको राजविराज नगरपालिकामा हाल घटेका अप्रिय घटनामा संलग्न रहेका पार्टी सदस्यलाई स्पष्टीकरण सोध्ने निर्णय बैठकले गरेको छ।

प्रकाशित: ९ असार २०८२ १५:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast