स्थानीय तहसँग समन्वय गरी शिक्षक दरबन्दीबारे सुझाव पठाउन आग्रह

हिमाल प्रेस ८ असार २०८२ १७:१३ | Sunday, June 22, 2025
स्थानीय तहसँग समन्वय गरी शिक्षक दरबन्दीबारे सुझाव पठाउन आग्रह

काठमाडौँ- शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षक दरबन्दी मिलान तथा व्यवस्थापनसम्बन्धी राय, सुझाव यथाशीघ्र पठाउन आग्रह गरेको छ। केन्द्रले देशभरका ७७ वटै शिक्षा विकास तथा समन्वय एकाइलाई पत्र पठाउँदै स्थानीय तहसँग समन्वय गरी वस्तुगत तथ्यसहितको राय उपलब्ध गराउन निर्देशन दिएको हो। केन्द्रको असार ८ गतेको निर्णय अनुसार उक्त निर्देशन दिइएको हो।

केन्द्रका अनुसार शिक्षक दरबन्दी (मिलान तथा व्यवस्थापन) कार्यविधि-२०७६ बमोजिम हाल दरबन्दी समायोजनको काम भइरहेको छ। यसै सन्दर्भमा, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले २०८१ सालको कात्तिक १४ गते गठित गरेको उच्चस्तरीय दरबन्दी पुनरवलोकन कार्यदलको प्रतिवेदन अध्ययनरत रहेको पनि केन्द्रले जनाएको छ।

विद्यालय गाभ्ने र पुनःनक्सांकनको तयारी

सरकारको आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा विद्यालयको पुनः नक्सांकन गर्ने, विद्यालय गाभ्ने नीति लिने तथा तल्लो तहका शिक्षक दरबन्दीलाई माथिल्लो तहमा रूपान्तरण गर्ने विषय समेटिएको सन्दर्भमा केन्द्रले तत्कालीन तयारीस्वरूप आवश्यक सुझाव माग गरेको हो।

केन्द्रले ईडीसीयूहरूलाई आफ्ना जिल्लाका स्थानिय तहहरूसँग समन्वय गरी विद्यालयहरूको तथ्यांक, भौगोलिक अवस्था, विद्यार्थी संख्या, भौतिक पूर्वाधार तथा सम्भावित गाभ्ने र रूपान्तरण हुने अवस्था विश्लेषण गरी राय तयार पार्न निर्देशन दिएको छ।

राय र सुझावहरू केन्द्रको ठेगाना [email protected] मा यथाशीघ्र पठाउन आग्रह गरिएको छ।

प्रकाशित: ८ असार २०८२ १७:१३ | Sunday, June 22, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast