
काठमाडौँ- नेपाल पर्यटन बोर्डको सहकार्यमा बंगलादेशस्थित नेपाली राजदूतावासले ‘डेस्टिनेसन नेपाल ः फ्रम द वे अफ बंगाल टु दि हिमालय’ भन्ने नाराका साथ चटगाँवमा नेपाल–बंगलादेश पर्यटन सम्मेलन आयोजना गरेको छ।
कार्यक्रममा बंगलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारीले नेपाल–बंगलादेश सम्बन्धमा पर्यटन र जनस्तरको सम्बन्धबारे प्रकाश पारेका थिए। उनले हिमालको शिखरसँग बंगालको खाडीलाई जोड्ने प्रयासमा सबै जुट्नुपर्ने बताए।
नेपाल सरकारद्वारा गरिँदै आएका पूर्वाधार सुधारका प्रयासबारे जानकारी दिँदै भण्डारीले नेपालको प्रवद्र्धनमा निजी क्षेत्रका पर्यटन व्यवसायीको योगदानको प्रशंसा गरे।
नेपाल पर्यटन बोर्डका पर्यटन प्रवद्र्धन विभागका कार्यवाहक निर्देशक रोहिणीप्रसाद खनालले नेपालको विविध पर्यटकीय सम्पदाबारे प्रस्तुति दिँदै सहभागी ट्राभल एजेन्ट तथा टुर अपरेटरहरूलाई दुई देशबीचको पर्यटन सम्बन्ध थप सुदृढ बनाउन आह्वान गरे।
उनले बंगलादेशलाई नेपालको एक प्रमुख पर्यटक बजारका रूपमा उल्लेख गर्दै बंगलादेशी पर्यटकको आगमनमा वृद्धि हुने विश्वास व्यक्त गरे।
कार्यक्रममा सन् २०२४ मा सफलतापूर्वक सगरमाथा आरोहण गरेका पर्वतारोही बाबर अलीले आफ्नो नेपाल भ्रमणको अनुभव साझा गरेका थिए। उनले हालै अन्नपुर्ण आरोहणसमेत गरेको उल्लेख गरे।
कार्यक्रमअघि नेपाल र बंगलादेशका पर्यटन व्यवसायीहरूबीच ‘बी टू बी मिट’ र नेटवर्किङ सेसनसमेत आयोजना गरिएको थियो। कार्यक्रममा पर्यटन बोर्डका अधिकारीहरूका साथै १३ वटा टुर र ट्राभल कम्पनीका प्रतिनिधि सहभागी थिए।