ईसीडीदेखि एसईईसम्म : शिक्षा विधेयकमा मन्त्रालयको संशोधन प्रस्ताव सार्वजनिक

हिमाल प्रेस ३ असार २०८२ १७:४९
5.2k
SHARES
ईसीडीदेखि एसईईसम्म : शिक्षा विधेयकमा मन्त्रालयको संशोधन प्रस्ताव सार्वजनिक

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय शिक्षा विधेयक-२०८० मा प्रारम्भिक बाल शिक्षा (ईसीडी) अवधि एक वर्षको बनाउने प्रस्ताव अघि सारेको छ। प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिताअन्तर्गतको उपसमितिको प्रतिवेदन अध्ययनपश्चात् मन्त्रालयले ३३ बुँदे धारणा सार्वजनिक गर्दै उक्त प्रस्ताव अघि सारेको हो।

बालबालिकाको समग्र विकासलाई सुदृढ बनाउने उद्देश्यसहित मन्त्रालयले ३ देखि ५ वर्ष उमेर समूहलाई लक्षित गर्दै एक वर्षको ईसीडी कार्यक्रम विद्यालय तहअन्तर्गत सञ्चालन गर्ने प्रस्ताव गरेको हो।

हाल बाल शिक्षालाई तीन वर्षे अवधिको रूपमा बुझिँदै आएको भए पनि यो प्रस्तावले संरचित र राज्यनियन्त्रित रूपमा प्रारम्भिक शिक्षा विकास गर्न बल पुर्‍याउने मन्त्रालयको विश्वास छ।

यससँगै मन्त्रालयले आधारभूत र माध्यमिक तहका शिक्षकका योग्यता निर्धारणसम्बन्धी धारणा पनि स्पष्ट पारेको छ। जसअनुसार आधारभूत तहका शिक्षकका लागि कक्षा १२ उत्तीर्ण न्यूनतम योग्यता र  माध्यमिक तहका शिक्षकहरू दुई प्रकारका हुनेछन्। कक्षा ९ र १० का शिक्षकका लागि स्नातक तथा कक्षा ११ र १२ का लागि स्नातकोत्तर तह अनिवार्य हुनुपर्नेछ।

शिक्षक सेवामा लाइसेन्सको अनिवार्यतालाई पनि स्पष्ट पार्दै मन्त्रालयले स्थायी सेवामा नियुक्त हुने शिक्षकले अनिवार्य रूपमा शिक्षक सेवा अनुमतिपत्र (लाइसेन्स) पाउनुपर्ने तर अस्थायी रूपमा नियुक्त हुने शिक्षकका हकमा लाइसेन्स नचाहिने व्यवस्था विधेयकमा राखिने धारणा राखेको छ।

निजी विद्यालयका सन्दर्भमा मन्त्रालयले लचिलो नीति अघि सार्दै निजी विद्यालयहरू शैक्षिक गुठी वा कम्पनी मोडेलमा दर्ता गरी सञ्चालन गर्न सकिने व्यवस्था गर्नुपर्ने प्रस्ताव अघि सारेको छ। यसले निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्दै विद्यालयको पारदर्शिता र जवाफदेहिता बढाउने विश्वास मन्त्रालयले व्यक्त गरेको छ।

यसैबीच, मन्त्रालयले विद्यालय शिक्षा विधेयकमा माध्यमिक शिक्षा परीक्षा (एसईई) प्रदेश सरकारमार्फत सञ्चालन गर्नुपर्ने प्रस्ताव गरेको छ। साथै, शिक्षा प्रशासनलाई चुस्त बनाउन शिक्षा विभाग पुनःस्थापना तथा जिल्लामा शिक्षा कार्यालय सञ्चालन गर्नुपर्ने धारणा पनि राखिएको छ।

शिक्षा विधेयकमा फेरबदल

शिक्षा विधेयकमा शिक्षक कर्मचारीका माग बेवास्ता : उपमहासचिव जोशी

सरकारले धोका दियो, आन्दोलनको विकल्प छैन : अध्यक्ष अधिकारी

शिक्षा विधेयक : निजी विद्यालय अनुकूल ऐन बनाइँदै

प्रकाशित: ३ असार २०८२ १७:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast