निलो रिबनसहित संसद्‌मा रास्वपाका सांसद, कांग्रेसको आपत्ति

हिमाल प्रेस ३ असार २०८२ १४:५५
36
SHARES
निलो रिबनसहित संसद्‌मा रास्वपाका सांसद, कांग्रेसको आपत्ति

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरू निलो रिबन लगाएर मंगलबारको प्रतिनिधिसभा बैठकमा सहभागी भएपछि नेपाली कांग्रेसले आपत्ति जनाएको छ।

कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले संसद्को नियमावलीअनुसार अमर्यादित पोसाक लगाउन नपाइने स्पष्ट व्यवस्था रहेको भन्दै सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएका हुन्।

‘संसद् सचिवालयको नियमावलीको दफा ३० अनुसार अमर्यादित व्यवहार गरे सभामुखले चेतावनी दिन सक्ने प्रावधान छ,’ प्रमुख सचेतक घिमिरेले भने, ‘त्यस्तो चेतावनी पाएपछि सदस्यले तुरुन्तै आफ्नो व्यवहार नियन्त्रण गर्नुपर्ने व्यवस्था छ। नियम ३१ मा आवश्यक भए बैठककक्षबाट निष्कासन गर्न सकिने उल्लेख गरिएको छ।’

उनले सांसदहरूले लगाएको निलो रिबन मर्यादित पोसाकको दायराभित्र पर्छ कि पर्दैन भन्ने प्रश्न उठाउँदै भने, ‘यदि यसरी स्कार्फ, रिबन जस्ता चिजहरू भिरेर आउन थालियो भने भोलि कोही हाफ पाइन्ट लगाएर, कोही अन्य कुनै अनौपचारिक पोसाकमा आउन सक्ने अवस्था आउँछ। यस्तो कार्यले संसद्को गरिमा घटाउँछ, सभामुखले आवश्यक कारबाही गर्नुपर्छ।’

रास्वपाका सांसदहरू भने भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिन र राजीनामाको माग गर्दै केही दिनदेखि लगातार विरोध जनाउँदै आएका छन्। आज पनि उनीहरू निलो रिबनसहित संसद्मा उपस्थित भएका थिए।

पार्टीका सांसद तथा कार्यवाहक प्रवक्ता मनीष झाका अनुसार निलो रिबन मानव तस्करीविरुद्धको अन्तर्राष्ट्रिय प्रतिक भएकोले त्यसकै सन्देश दिन सांसदहरूले रिबन लगाएका हुन्।

गत जेठ १३ गतेदेखि रास्वपाले संसद्‌मा गृहमन्त्रीमाथि छानबिनको माग राख्दै निरन्तर विरोध जनाइरहेको छ। तर सत्तापक्षले भने उक्त माग अस्वीकार गर्दै आएको छ।

प्रकाशित: ३ असार २०८२ १४:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast