लुम्बिनीमा बजेटअघि सत्तारुढ दलबीच विवाद, मन्त्रीले गरे मोबाइल ‘अफ’

हिमाल प्रेस १ असार २०८२ १५:३२ | Sunday, June 15, 2025
लुम्बिनीमा बजेटअघि सत्तारुढ दलबीच विवाद, मन्त्रीले गरे मोबाइल ‘अफ’

बुटवल– लुम्बिनी प्रदेशमा आईतबार दिउँसो ३ बजे ल्याउने भनिएको बजेट दुई घण्टा सारिएको छ। प्रदेशसभाका सचिव दुर्लभकुमार पुन मगरका अनुसार सरकारले ५ बजेका लागि समय माग गरेकाले सोही अनुसार बैठक बस्ने सूचना गरिएको छ।

बजेटका विषयमा सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेका मन्त्री र सांसदहरुविच मतभेद भएपछि समय धकेलिएको हो। मुख्यमन्त्री चेतनारायण आचार्य र अर्थमन्त्री धनेन्द्र कार्कीबीच बजेटका विषयमा विवाद भएकाले बजेट ल्याउने समय नै हेरफेर गरिएको जनाइएको छ। प्रदेशसभामा बजेट पेश गर्ने बेला मन्त्रीहरु भने मोबाईल स्विच अफ गरेर बसेका छन्।

नेपाली कांग्रेसबाट अर्थमन्त्री भएका कार्कीको मोबाइल स्विच अफ छ। मुख्यमन्त्री चेतनारायण आचार्यले आफ्ना योजनाहरु समावेश गर्न भन्दै दबाब दिएको र कांग्रेसका सांसदहरुले भनेको योजना नपरेको भन्दै पार्टीभित्रैबाट समेत दवाव परेपछि उनी मोबाइल स्विच अफ गरेर बसेको उनी निकट श्रोतले बताएको छ।

कांग्रेसबाट मन्त्री भएका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सेनाको पनि मोबाईल स्विच अफ छ। यसैगरी शहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा (रोज राणा) ले पनि मोबाईल अफ गरेका छन्।

कांग्रेसका मन्त्रीहरुले सत्तारुढ दलमा रहेर पनि एमालेले पेलेको भन्दै आपत्ति जनाएपछि छलफलमा जुटेका छन्। कांग्रेसबाट निर्वाचित एक सांसदका अनुसार मुख्यमन्त्रीले बजेटका विषयमा अर्थमन्त्रीलाई हस्तक्षेप गरेकाले त्यसमा असहमति बढेको हो।

सांसदहरुलाई ३र३ करोड बजेट राखेर अर्थमन्त्रीले बजेट ल्याउने तयारीमा जुटेका छन्। यद्यपि यस विषयमा मुख्यमन्त्री चेतनारायण आचार्यले विरोध हुने भन्दै कटौती गर्न भनेपछि सत्तारुढ दलका मन्त्रीहरुबीच यो विषय बाझिएको हो। बजेट ल्याउनेबारेमा सतहमा कोही नबोले पनि दुई दलका बीचमा रहेको मतभेद साम्य पारेर मात्रै मन्त्रिपरिषद् बैठक बस्ने तयारी भइरहेको छ।

बजेटका नीतिगत प्रक्रियाका कारणले ढिलाई भएकाले मात्रै समय सारिएको स्वास्थ्यमन्त्री खेम सारु मगरले बताए। उनले कुनै असहमति वा बेमेलका कारणले बजेट ल्याउने विषयमा फरक मत नरहेको दाबी गरे।

उनका अनुसार साढे ३ बजे मन्त्रिपरिषद् बैठक बस्ने छ। मन्त्रिपरिषद् बैठकअघि नै सहमतिका लागि मन्त्री, सांसद र दलका नेताहरु जुटेका छन्। साँझ ५ बजे बस्ने तेह्रौँ बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री कार्कीले राजस्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गर्ने कार्यक्रमसूची रहेको छ।

लुम्बिनी प्रदेश सरकारले आगामी वर्षको बजेटमा कृषि, रोजगारी, पूर्वाधार, पर्यटन, शिक्षा, स्वास्थ्य, उद्योग, वातावरण, सूचना प्रविधि र सामाजिक सुरक्षालाई प्रमुख प्राथमिकतामा राख्ने तयारी गरेको छ।

चालू आर्थिक वर्ष २०८१/८२ मा लुम्बिनी प्रदेशले ३८ अर्ब ९७ करोड रुपैयाँको बजेट ल्याएको थियो। आगामि वर्ष ०८२र/८३ को बजेटको आकार केही घटेर आउने बताइएको छ।

प्रकाशित: १ असार २०८२ १५:३२ | Sunday, June 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast