नक्कली प्रमाणपत्र पेस गरी पदोन्नति लिएका शिक्षकविरुद्ध अख्तियारको मुद्दा

हिमाल प्रेस २७ जेठ २०८२ ७:४० | Tuesday, June 10, 2025
नक्कली प्रमाणपत्र पेस गरी पदोन्नति लिएका शिक्षकविरुद्ध अख्तियारको मुद्दा

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी पदोन्नति लिएको अभियोगमा पर्साका एक शिक्षकविरुद्ध विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ।

आयोगका अनुसार जिल्ला पर्साको वीरगन्ज महानगरपालिका–१ स्थित रामदेनी तिवारी आधारभूत विद्यालयमा कार्यरत चन्देश कुमार चौहानले आफूलाई द्वितीय श्रेणीमा पदोन्नति गराउन नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरेका थिए।

शिक्षक चौहानले २०६० साल मंसिर ५ गते तृतीय श्रेणीका अंग्रेजी शिक्षकका रूपमा स्थायी नियुक्ति पाएका थिए। पछि उनले मगध विश्वविद्यालय बोधगया (भारत) बाट स्नातक तह उत्तीर्ण गरेको झुटो विवरण दिँदै २०७० साल साउन ८ गते द्वितीय श्रेणीमा पदोन्नति लिएका थिए।

अनुसन्धानका क्रममा चौहानले पेस गरेको प्रमाणपत्र नक्कली भएको पुष्टि भएपछि अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ (१) अनुसार उनीविरुद्ध कैद र जरिवानाको मागसहित विशेष अदालतमा मुद्दा दायर गरेको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए।

आयोगले उक्त कार्यलाई भ्रष्टाचार मान्दै कानुनी दायरामा ल्याउन विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।

विज्ञप्ति

अख्तियार दुरुपयोग अनुसन्धान आयोग

आरोपपत्र दायर गरिएको ।

मिति: २०८२।०२।२६ गते ।

जिल्ला पर्सा, श्री रामदेनी तिवारी नि.मा.वि. तहमा कार्यरत शिक्षक चन्देश कुमार चौहानको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा वीरगंज महानगरपालिका वडा नं. १ छपकैया स्थित श्री रामदेनी तिवारी आ.वि.मा कार्यरत शिक्षक चन्देश कुमार चौहान मिति २०६०/०८/०५ मा नि.मा.वि. तृतीय श्रेणीमा अंग्रेजी शिक्षकमा स्थायी नियुक्ति भई नि.मा.वि. द्वितीय श्रेणीको शिक्षक पदमा बढुवा प्रयोजनको लागि MAGADH UNIVERSITY BODH-GAYA बाट अग्रेजी B.A. (Hons.) स्नातक तह उत्तीर्ण गरेको भनी झुट्टा (नक्कली) शैक्षिक योग्यताको प्रमाणपत्रहरु पेश गरी मिति २०७०/०४/०८ मा नि.मा.वि. द्वितीय श्रेणीमा पदोन्नति भई लाभ, ओहदा र सुविधा प्राप्त गरेको पुष्टि भएको हुँदा निजलाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसूरमा सोही ऐनको दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवानाको सजाय हुन मागदाबी लिई आ विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

प्रवक्ता
राजेन्द्र कुमार पौडेल

प्रकाशित: २७ जेठ २०८२ ७:४० | Tuesday, June 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast