संविधान पुनर्लेखनको विकल्प छैन : उपेन्द्र यादव

हिमाल प्रेस २३ जेठ २०८२ २०:०४
54
SHARES
संविधान पुनर्लेखनको विकल्प छैन : उपेन्द्र यादव

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले हाल देशमा देखिएका सबै समस्याको मूल जरो वर्तमान संविधानमा रहेकाले पुनर्लेखनको विकल्प नभएको बताएका छन्।

शुक्रबार तौलिहवामा जसपा नेपाल कपिलवस्तुको प्रथम जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

अध्यक्ष यादवले संविधान नसच्याए योभन्दा कठिन र जटिल अवस्थाको सामना गर्नुपर्ने जिकिर गरे।

‘फोहोर भइसकेको खोलाको मुहान पहिले सफा गरौँ, पानी आफैँ स्वच्छ हुन्छ,’ उनले भने,‘मुलुकलाई निकास दिन ढिला नगरौँ, दफावार धारा पिच्छे त्रुटिपूर्ण रहेको यो संविधानलाई पुनर्लेखन गर्नुको विकल्प छैन।’

संविधान संशोधनकै एजेन्डा अघि सारेर बनेको वर्तमान सरकार सत्तालिप्सा, भ्रष्टाचारी, कमिसनखोरी, विचौलिया र भूमाफिया जस्ता देशका धमिरलाई संरक्षण गर्नुबाहेक अरू केही नगरेको यादवको आरोप छ।

उनले संविधानका त्रुटिहरू सच्याउनेतर्फ सरकार गम्भीर नभएको बताए।

संघीय लोकतान्त्रिक गणतन्त्रको मर्मअनुसार देशमा संविधान कार्यान्वयन नभएको भन्दै यादवले जारी भएदेखि यो विकृत संविधानका कारण एक दशकदेखि मुलुक अनिर्णयको बन्दी बन्न बाध्य भएको बताए।

‘ठूला भनिएका तीन दल आफैंले ल्याएको संविधानको कभरमा संघीय लोकतान्त्रिक गणतन्त्र लेखे पनि यसको कार्यान्वयनमा इमानदार छैनन्,’ अध्यक्ष यादवले भने,‘संविधान कार्यान्वयन भएन भने त्यसले लोकतन्त्रलाई झन कमजोर बनाउँछ, त्यसैले संविधान संशोधन गरेर त्यसको मूलमर्म अनुसार पुनर्लेखन गर्नुपर्छ।’

कांग्रेस र कम्युनिस्ट जस्ता दलहरू संविधान र संघीयता कार्यान्वयनप्रति गम्भीर नदेखिएको आरोप लगाउँदै उनले प्रतिवद्धताविना कुनै पनि संविधान दीर्घकालीन बन्न नसक्ने उल्लेख गरे।

अध्यक्ष यादवले भ्रष्टाचार नियन्त्रण, सुशासन र जनताको विश्वास प्राप्त गर्न बलियो सरकारको आवश्यकता रहेको जिकिर गरे।

प्रकाशित: २३ जेठ २०८२ २०:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast