पूर्वशिक्षामन्त्री श्रेष्ठले शिक्षकहरूलाई भने- सरकारसँग महत्त्वपूर्ण सहमति गर्नुभएको छ, कार्यान्वयन गराउन लाग्नुस्

हिमाल प्रेस २३ जेठ २०८२ १४:०४
1.9k
SHARES
पूर्वशिक्षामन्त्री श्रेष्ठले शिक्षकहरूलाई भने- सरकारसँग महत्त्वपूर्ण सहमति गर्नुभएको छ, कार्यान्वयन गराउन लाग्नुस्

काठमाडौँ- नेकपा एमालेका सांसद तथा पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले शिक्षकहरूलाई सरकारसँग भएको सहमतिबाट पछि नहट्न आग्रह गरेका छन्।

शुक्रबार काठमाडौंस्थित नेपाल आदर्श माध्यमिक विद्यालयको ७५औं वर्ष हीरक जयन्तीको अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै श्रेष्ठले लामो संघर्षपछि प्राप्त उपलब्धिलाई संस्थागत गर्न सबै शिक्षक एकजुट हुनुपर्नेमा जोड दिए।

‘शिक्षकहरूले लामो आन्दोलन गरेर सरकारसँग सहमति गर्नुभएको छ,’सांसद श्रेष्ठले भने,‘पटकपटक सहमति भएको छ,कार्यान्वयन भने भएको छैन। तर यो पालि गज्जबको सहमति भएको छ। प्राप्त उपलब्धि कार्यान्वयन गराउने दिशामा लाग्नुस्।’

पूर्वशिक्षामन्त्री श्रेष्ठले वर्तमान सरकारका शिक्षामन्त्री सहभागी रहेको सहमतिको प्रभावकारी कार्यान्वयनका लागि आफू पूर्ण सहयोगमा रहने स्पष्ट पारे। ‘अधिकार मागेर पाइँदैन, खोसेर लिनुपर्छ’ भन्दै उनले शिक्षकहरूलाई संगठित भएर दबाब दिनुपर्ने आवश्यकता औँल्याए।

उक्त कार्यक्रममा सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लले पनि सार्वजनिक शिक्षाको सुधारतर्फ ध्यान दिनुपर्ने बताइन्। उनले सरकारी विद्यालयमा गुणस्तरीय शिक्षाका लागि लगानी बढाउँदै निजी विद्यालयसँग प्रतिस्पर्धा गर्नसक्ने वातावरण बनाउनुपर्नेमा जोड दिइन्।

‘विद्यालय शिक्षाको ज्योति छर्ने थलो मात्रै होइन, यो चेतना जन्माउने र बुद्धिमता सिर्जना गर्ने थलो हो,’ न्यायाधीश मल्लले भनिन्,‘सरकारी विद्यालयले निजी स्कुलसँग प्रतिस्पर्धा गर्नसक्ने वातावरण बनाइदिनुभयो भने तपाईंहरूले भनेका सबै कुरा पूरा हुन्छन्।’

प्रकाशित: २३ जेठ २०८२ १४:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast