
काठमाडौँ- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बैंक तथा वित्तीय संस्थाले ‘टेक एण्ड पे’ को विषयलाई लिएर जलविद्युत् क्षेत्रमा लगानी नगर्नुपर्ने कुनै कारण नरहेको बताएका छन्। अपि पावर लिमिटेडको सहायक कम्पनी दार्चूला पावर कम्पनीले दार्चुलामा निर्माण गर्न लागेको मध्य चमेलिया (२८.३ मेवा) जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन समारोहमा उनले बजेटमा राखिएको ‘टेक एण्ड पे’ को विषयलाई लिएर लगानी नगर्नुपर्ने कुनै कारण नभएको बताएका हुन्।
‘बजेटमा ‘टेक एण्ड पे’ को शब्दले प्रवेश पाएपछि वित्तीय व्यवस्थापन कसरी होला भन्ने चिन्ता लिनुभएको होला, नआत्तिकन लगानी गर्नुहोस्, उक्त प्रस्ताव ऊर्जा मन्त्रालयको होइन, सो प्रस्तावलाई संशोधन गर्न अर्थ मन्त्रालयसँग छलफल भइरहेको छ,’ उनले भने।
ऊर्जामन्त्री खड्काले सरकारले आगामी १० वर्षमा २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएकाले उक्त लक्ष्य पूरा गर्न निजी क्षेत्रको महत्त्वपूर्ण भूमिका रहेको बताए।
ऊर्जा क्षेत्रका बाधक कानुन र सोचलाई परिवर्तन गर्दै सरकार अगाडि बढ्न चाहेको उनको भनाइ छ। मन्त्री खड्काले नेपालमा भएका स्रोतको उच्चतम सदुपयोग गरेर गरिब तथा विपन्न नागरिकलाई समृद्धि बनाउने बाटोमा सरकार लागिरहेको बताए।
उनले मध्ये चमेलिया जलविद्युत् आयोजनालाई समयमै सम्पन्न गर्न आग्रह गरे। रासस