
हिमशृंखलाको काखमा बुद्ध र सगरमाथाको पहिचान बोकेर भारत र चीनसँग कूटनीतिक समन्वय गर्दै डटेर रहेको अल्पविकसित मुलुक हो नेपाल। नेपालका हरेक जनतामा राजनीतिक स्थायित्व र तीव्र विकासको आकांक्षा सलबलाइरहेको देखिन्छ। यो आकांक्षा साकार पार्ने जिम्मेवारी बोकेका ‘नेता’ हरूप्रति जनताको विश्वास क्रमशः क्षीण हुँदै गएको छ। हुन पनि नेपालको नेतालाई ठुटे नेतामा वर्गीकरण गर्न मिल्ने रहेछ।
लोकतन्त्र छ। जनताले बनाएको संविधान छ। संविधानअनुसार निर्वाचित तीन तहका सरकार सञ्चालनमा छन्। जनताको आस जाग्ने गरी कुनै तहको सरकारले पनि उपलब्धिमूलक काम गर्न सकेका छैनन्। सुशासन अभाव छ। वडा तहको कार्यालयदेखि सिंहदरबारसम्म भ्रष्टाचारले जरा गाडेको छ। सरकारमा बिचौलियाको बिगबिगी छ। नागरिकको सेवा प्रवाहमा जुनसुकै सरकार पनि चुक्दै आएको छ।
दलहरूमा पनि पारदर्शिता र जबाफदेहिता हराएको छ। त्यसको प्रभाव सरकारमा पर्नु स्वाभाभिकै हो। पछिल्लो समय गृह प्रशासन नै भिसा लिएका नेपालीलाई अनेकन् दुःख दिएर पैसा असुल्न संलग्न भएको घटना बाहिर आएको छ। गृह प्रशासन यस्तो अनियमिततामा संलग्न भएपछि राज्यका सबै संरचना भ्वाङ परेको स्पष्ट हुन्छ।
नेपालमा राजनेताको अभावले जनताले यस्ता बेथिति सहनुपरेको चर्चा नागरिक समाजमा हुन थालेको छ। राजनीतिशास्त्रीहरूका अनुसार नेतृत्वलाई उसको योग्यता र क्षमताका आधारमा विश्वभर तीन प्रकारमा वर्गीकरण गरिन्छ- राजनेता, नेता र ठुटे नेता। यी तीनै प्रकारका नेताहरूको चरित्र, दृष्टिकोण र प्रभावले कुनै पनि मुलुकको प्रगतिको दिशा र गति निर्धारण गर्दै आएको दृष्टान्त पाइन्छ।
नेपालमा राजनेता र नेताको अभाव छ। ठुटे नेताहरूको बाहुल्य छ। यिनै ठुटे नेताको बेथितिले विकासको सपना धमिलो बनाएको छ। यो यहाँ यी तीन प्रकारका नेताहरूको विशेषता, प्रख्यात विद्वान्हरूको भनाइलाई आधार बनाएर नेपालको राजनीतिक परिदृश्यमा तिनको प्रभाव, विश्वका अन्य मुलुकका उदाहरणलाई आधार बनाएर विश्लेषणको प्रयास गरिएको छ।
राजनेता : मुलुकको दिशा दिने दूरदर्शी आत्मा
राजनेता त्यस्तो व्यक्तित्व हो, जसले व्यक्तिगत र दलगत स्वार्थभन्दा माथि उठेर मुलुकको समग्र हितलाई प्राथमिकता दिन्छ। हुन त संसारमा नै यस्ता नेताको खाँचो छ। विश्वभरका नेताको नाम लिँदा पनि यो त राजनेता हो भन्न सकिँदैन। राजनेता त्यस्ता हुन्छन् जसले इतिहास, संस्कृति, अर्थशास्त्र र समाजशास्त्रको गहिरो अध्ययन गरेका हुन्छन्। उनीहरू मुलुकको वास्तविकता बुझ्छन् र त्यसलाई सम्बोधन गर्ने दीर्घकालीन नीति निर्माण गर्न खरो रूपमा उत्रन्छन्।
आफ्नो राजनीतिक दललाई बलियो बनाउँदै मुलुकको विकासलाई समानान्तर रूपमा अघि बढाउन सक्नु राजनेताको विशेषता हो। उनीहरू जनताको मन जित्छन्, तर लोकप्रियतावाद (पपुलिजम) को लोभमा फस्दैनन्। विश्व इतिहासमा राजनेताका उदाहरण प्रशस्त छन्। दक्षिण अफ्रिकाका नेल्सन मन्डेला एक यस्ता राजनेता थिए, जसले रंगभेदविरुद्धको लडाइँलाई एकताको सन्देशमा बदले।
उनले भनेका थिए, ‘अ लिडर इज लाइक अ सेफर्ड। हि स्टेज विहाइ्ड द फ्लक, लेटिङ द मस्ट निम्बल गो आउट अहेड होयर अपअन द अदर्स फलो नट रिअलाएजिङ द्याट अल अलङ दे आर विइङ डाइरेक्टेड फ्रम विहाइन्ड,’ अर्थात् यो भनाइले राजनेताको गुण प्रस्ट पार्छ- उनीहरूले जनतालाई दिशा दिन्छन्, तर आफूलाई अगाडि राख्दैनन्। मन्डेलाले व्यक्तिगत प्रतिशोध त्यागेर समावेशी समाज निर्माणमा जोड दिए, जसले दक्षिण अफ्रिकालाई नयाँ उचाइमा पुर्यायो। अन्य अफ्रिकी मुलुक र दक्षिण एसियाको राजनीतिक अवस्था दाँजेर हेरौँ न।
नेपालका सन्दर्भमा बीपी कोइराला एक यस्ता राजनेता थिए, जसले प्रजातन्त्र स्थापनासँगै ‘राष्ट्रियता, प्रजातन्त्र र समाजवाद’ सिद्धान्तमार्फत मुलुकको विकासको खाका कोरेका थिए छोटो समयमै। उनले भनेका थिए, ‘हामीले बनाउने समाज त्यस्तो हुनुपर्छ, जहाँ हरेक व्यक्तिको आत्मसम्मान र स्वतन्त्रता सुरक्षित होस्।’ बीपीले नेपाललाई आधुनिक र समृद्ध मुलुक बनाउने सपना बोकेका थिए तर उनको समयपछि यस्ता नेताहरूको अभावले मुलुकको गति अवरुद्ध भएको छ। बीपीका कुरा गर्नेहरू जति पाइन्छन् तर बीपीजस्तै राजनेता पाउन सकिएको छैन।
अहिले कर्मचारी, शिक्षक, प्राध्यापक सबै राजनीतिक कार्यकर्ता। पहिले उनीहरु त्यस्तो कार्यकर्ता हुन सकेका थिएनन्। बीपीले सम्झाएका थिए, असल कर्मचारी, शिक्षक र प्राध्यापक बन्नु दलको कर्मचारी, शिक्षक र प्राध्यापक नबन्नु। मुलुकमा संकट पर्दा ती राष्ट्रसेवकले भनेको कुरा सर्वसाधारणले पत्याउन्नन्। तब न शिक्षक नत्र केको शिक्षक!
नेता : दलगत स्वार्थमा रमाउने व्यक्तित्व
नेता भन्नाले त्यस्ता व्यक्तिलाई बुझिन्छ, जो मुलुकको विकासभन्दा आफ्नो राजनीतिक दलको स्वार्थ र सत्तामा प्राथमिकता दिन्छ। यस्ता नेताहरूले इतिहासको उपयोग गर्छन् तर प्रायः अरूलाई गाली गर्न र शत्रुको छवि बनाउन। उनीहरूको मुख्य उद्देश्य दललाई बलियो बनाउनु र सत्तामा पुग्नु हो। यस्ता नेताहरूले छोटो अवधिको लोकप्रियतामा ध्यान दिन्छन् तर दीर्घकालीन नीति र दृष्टिकोणमा कमी हुन्छ।
नेताका रूपमा भारतका पूर्वप्रधानमन्त्री इन्दिरा गान्धीको उदाहरण लिन सकिन्छ। उनले आफ्नो दल कांग्रेसलाई बलियो बनाउन धेरै प्रयास गरिन् तर संकटकालीन अवस्था (१९७५–७७) जस्ता कदमले उनको नेतृत्व विवादास्पद बन्यो। यस्ता नेताहरूले छोटो समयमा लोकप्रियता कमाउँछन्, तर दीर्घकालमा मुलुकको हितमा कमी आउँछ।
नेपालमा यस्ता नेताहरूको संख्या उल्लेखनीय छ। उनीहरूले विकासका नारा त दिन्छन् तर कार्यान्वयनमा कमजोरी देखाउँछन्। उदाहरणका लागि, ‘समृद्ध नेपाल, सुखी नेपाली’ जस्ता नाराले जनताको मन त तान्छ, तर नीतिगत अस्पष्टता र कार्यान्वयनको अभावले ती नारा हावादारी साबित हुन्छन्। यस्ता नेताहरूले जनताको भावनालाई उपयोग गर्छन् तर नीतिगत स्थिरता र पारदर्शितामा ध्यान दिँदैनन्। आफ्नै कानुनको पनि अध्ययन गरेका हुँदैनन्। यस्ता नेताहरूले सत्ताको खेलमा ध्यान दिँदा विकासका मुद्दा ओझेलमा परेका छन्।
ठुटे नेता : व्यक्तिगत स्वार्थ र गुटबन्दीका प्रतीक
ठुटे नेता त्यस्ता व्यक्ति हुन्, जो न त मुलुकको हितमा सोच्छन्, न त आफ्नो दलको दीर्घकालीन विकासमा। उनीहरूको ध्यान व्यक्तिगत स्वार्थ, गुटबन्दी र ठेक्कापट्टामा केन्द्रित हुन्छ। यस्ता नेताहरूले इतिहास, समाज वा नीतिगत विषयमा चासो राख्दैनन्। उनीहरूले राजनीतिलाई पेसा र कमाइको साधन बनाउँछन्।
नेपालमा ठुटे नेताहरूको बाहुल्यले राजनीतिप्रति जनताको विश्वास गुम्दै गएको छ। यस्ता नेताहरूले सत्ताको दुरुपयोग गर्छन्, भ्रष्टाचारमा लिप्त हुन्छन् र विकासका योजनालाई व्यक्तिगत लाभको साधन बनाउँछन्। उदाहरणका लागि, मेलम्ची खानेपानी आयोजना, जुन दशकौंसम्म अल्झियो, ठेक्कापट्टा र भ्रष्टाचारको चपेटामा परेको स्पष्ट उदाहरण हो। भैरहवा र पोखरा विमानस्थल पनि उही समस्या। त्यस्तै उत्तर र दक्षिण जोड्ने रणनीतिक मार्ग अर्थात द्रुत मार्ग जुन अहिले नेपाली सेनाको व्यवस्थापनमा बनिरहेको छ, गाउँपालिकामा बनेका सरकारी भवन, मन्त्री निवास।
प्रख्यात दार्शनिक प्लेटोले भनेका थिए- ‘फिलोसोफर्स मस्ट विकम किंज, और दोज नाउ कल्ड किङ्ज मस्ट जेन्युन्लि एण्ड एडेक्वाइट्ली फिलोसफिज’ तर ठुटे नेताहरूमा न त दार्शनिक चिन्तन हुन्छ, न त नैतिकता। उनीहरूले आफ्नो स्वार्थलाई प्राथमिकता दिँदा मुलुकको विकासमा बाधा पुग्छ। नेपालमा यस्ता नेताहरूले ठेक्कापट्टा, कमाउअड्डा र गुटबन्दीमा ध्यान दिँदा राजनीतिको सम्मान घटेको छ।
नेतृत्वको संकट : किन र कसरी?
२००७ सालको प्रजातन्त्र प्राप्तिपछि केही राजनेताहरूले मुलुकलाई दिशा दिने प्रयास गरे। तर राजाले त्यतीबेला नेतालाई अघि बढ्न दिएनन्। जसको कारण नेपाल झन पछाडी धकेलियो। पछिल्ला दशकहरूमा त नेतृत्वको नै गुणस्तर खस्कँदै गएको छ। सत्ताको लोभ, भ्रष्टाचार र गुटबन्दीले राजनीति कमजोर बनाएको छ। ठुटे नेताहरूको प्रभावले जनताको विश्वास गुम्दै गएको छ। पहिले ‘नेता’ भन्ने शब्दले सम्मान र विश्वासको भावना जगाउँथ्यो, अहिले यो शब्दप्रति वितृष्णा बढ्दै गएको छ। जव वितृष्णा बढ्छ त्यतीबेला पुरानै व्यवस्था ठीक भन्ने अवस्था आउँछ। त्यो भनेको मुलुक झन जरजर अवस्थामा पुग्नु हो। नेतृत्व नै बदमासी गर्छ र कमाउ धन्दामा लाग्छ भने मुलुक स्वत असहजतामा जाने देखिन्छ।
आम नागरिक लाई रैती बनाउने र आफू सुख सयल गर्ने नेता हुँदासम्म मुलुकले दुख नै पाउँछ। अहिले पनि यही अवस्था छ। जुन कारणले मुलुकमा लोकतन्त्र ल्याउन आम नागरिक सडकमा उत्रे त्यही कारण दोहोरिएको देखिन्छ। अनि आम नागरिकमा के परेको होला? अहिलेको नेताले यो सोच्न आवश्यक छ। नेता भनेको आम नागरिक भन्दा केही बुझेको र परसम्मको अवस्था बुझ्ने ब्यक्तिको रुपमा परिचित छ। विद्वानहरुले पनि त्यही व्याख्या गरेका छन्। तर अहिले हामीकोमा देखिएका अधिकांश नेताहरु साच्चै ति भएन भने चाहिँ मुलुक बन्छ भन्न पर्ने अवस्था छ। यही हो नेतृत्व संकट भनेको।
संकटका कारण र सिक्ने पाठ
बारम्बार सरकार परिवर्तन र नीतिगत अस्थिरताले विकासका योजना अलपत्र परेका छन्। ठुटे नेताहरू भ्रष्टाचारमा केन्द्रित भएका कारण मुलुकको स्रोतको दुरुपयोग भएको छ। राजनेताको अभावले दीर्घकालीन दृष्टिकोण राख्ने नेतृत्वको कमी छ। पिच भयो ढल खन्ने अनि ढल बनाउने अनि पुन पिच गर्ने कार्य। यसको मतलव हो समन्वयको कमी। दलभित्र र बाहिरको गुटबन्दीले नेताहरूलाई व्यक्तिगत स्वार्थमा केन्द्रित बनाएको छ।
सिंगापुरका ली क्वान यू एक उत्कृष्ट राजनेताको उदाहरण हुन्। उनले सिंगापुरलाई स्रोतविहीन सानो टापुबाट विश्वको समृद्ध मुलुक बनाए। उनको भनाइ छ, ‘इफ यु वान्ट टू बी पपुलर, डु नट ट्राई टु बी पपुलर, बट डु ह्वाट इज राइट’ उनको दूरदर्शिता, नीतिगत स्पष्टता र भ्रष्टाचारप्रति शून्य सहनशीलताले सिंगापुरलाई विश्वमञ्चमा स्थापित गर्यो। हामी पहिले नै स्थापित भएर पनि हराउँदै गएका छौँ। कूटनीतिक नियोग त खुलेका छन् तर प्रभावकारी छैनन्। प्राथमिकता होइन लहडमा खुलेका छन्। अमेरिका जस्तो मुलुकमा दुईपक्षीय कुराकानी गर्न नै नसक्ने व्यक्ति राजदूत बनाइएको छ। यसअघिका राजदूतले कहाँ पुर्याएको सम्बन्ध र चासोलाई धुमिल पार्ने काम भएको छ।
सिंगापुरको विपरीत, जिम्बाब्वेमा रोबर्ट मुगाबेको शासनकालमा ठुटे नेतृत्वको प्रभाव देखिन्छ। उनको व्यक्तिगत स्वार्थ र भ्रष्टाचारले मुलुकको अर्थतन्त्र ध्वस्त भयो। यस्ता उदाहरणबाट नेपालले सिक्नुपर्छ कि नेतृत्वको गुणस्तरले मुलुकको भविष्य निर्धारण गर्छ। हामी सिंगापुरको होइन मुगावे लाइनमा छौँ। जेठ १५ गणतन्त्र दिवस हो। सबै खुसी हुन पर्ने तर मुहारमा मलिनता छ। स्वर भाषिएको छ। नागरिकमा निराशा बाहेक केही छैन। यो अवस्थाबाट माथी उठ्न मुलुकले राजनेता नै खोजेको छ। तर राजनेता खोइ? के त्यसो भन्दैमा पुरानै शासनमा जाने। त्यो झन बरबादीको बाटो हुनेछ।
राजनेताको पर्खाइमा नेपाल
नेपालमा राजनेता आवश्यक छ। यस्ता नेताहरूले दीर्घकालीन दृष्टिकोण राख्नुपर्छ, भ्रष्टाचार नियन्त्रण गर्नुपर्छ र जनताको विश्वास जित्नुपर्छ। अन्यथा नेता प्रति आम नागरिकको चासो पनि कम हुँदै जानेछ। यसका लागि निम्न कदम चाल्न सकिन्छः
-शिक्षा र चेतनाको विकास : नेताहरूले इतिहास, अर्थशास्त्र र समाजशास्त्रको गहिरो अध्ययन गर्नुपर्छ। त्यसकै आधारमा आफ्नो मुलुकको अवस्थालाई नियालेर अघि बढ्न आवश्यक पर्छ।
-पारदर्शिता र जवाफदेहिता : भ्रष्टाचार नियन्त्रण गर्न पारदर्शी नीति र जवाफदेही नेतृत्व आवश्यक छ। आफू मातहतमा करोडौँको घोटला हुने र छानबिन चल्ने तर मन्त्री म किन राजिनामा दिने भन्दै बस्ने चरित्र छ। त्यही व्यक्ति विगतमा आफैँ चर्केको भुलेको देखिन्छ। यस्तै नेताले गर्दा मुलुकमा आम नागरिकको विश्वास कम हुँदै गएको देखिन्छ। यही ब्यवस्थामा राम्राको खोजी गर्न आवश्यक छ। यसमा नागरिक पनि सचेत हुनैपर्छ।
-युवा नेतृत्वको प्रोत्साहन : नयाँ पुस्तालाई राजनीतिमा प्रवेश गर्न प्रोत्साहन गर्नुपर्छ, जसले ठुटे नेताहरूलाई विस्थापन गर्न सकोस्। आउने नेताले दल परिवार आफू होइन समग्र मुलुकलाई हेर्न सकोस्। तर फिल्मी शैली झै नेता कार्यकर्ता लिएर हिडेर मात्र मुलुक बन्दैन। त्यही अनुरुपको दुरदृष्टि आवश्यक पर्छ।
-नीतिगत स्थिरता : विकासका लागि दीर्घकालीन नीति र योजनाहरू कार्यान्वयनमा जोड दिनुपर्छ। व्यक्तिको दक्षता अनुरुपको जिम्मेवारी दिन सक्नुपर्छ। व्यक्ति चयन पनि महत्वपूर्ण पाटो हो।
-नैतिक नेतृत्व : नेताहरूले नैतिकता र इमानदारीलाई प्राथमिकता दिनुपर्छ। नैतिकता नहुँदा नै नेता ठुटे हुने हो। अहिलको कुनै नेतामा नैतिकता भएझैँ लाग्दैन।
-असलपन: नेतामा असल पन हुनै पर्छ। कुनै कुराले रिस नै उठे पनि त्यसलाई खिचेर राख्न सक्नुपर्छ। आफ्नो अगाडि नराम्रो हुँदा कसलाई रिस उठ्दैन र? त्यो बुझ्न सकेमात्र नेता अब्बल हुनेछ।
नेपालमा पछिल्लो समय इमानदार मानिस पाउन गाह्रो मात्र होइन साँच्चै समस्या नै छ। यही भएर कतिपय अब्बल नेताहरू भन्छन्। नेपालमा ९५ प्रतिशत नेता झुट शैलीबाट नेतृत्वमा आएका छन्। उनीहरूमा नैतिकताको अभाव छ। त्यसैले सुधार उनीहरु स्वयबाट हुन आवश्यक छ। निर्णयहरु लहडमा होइन धेरै अध्ययन गरेर लिन सक्नुपर्छ।
नेपालको विकासको सपना साकार पार्न राजनेताहरूको आवश्यकता छ। ठुटे नेताहरूको बाहुल्यले मुलुकलाई पछाडि धकेलिरहेको छ। विश्वका अन्य मुलुकका उदाहरण र विद्वान्हरूको भनाइबाट सिकेर नेपालले नेतृत्वको संकट समाधान गर्नुपर्छ। महात्मा गान्धीको भनाइ सान्दर्भिक छ, ‘द बेस्ट वै टु फाइन्ड योरसेल्फ इज टु लस योरसेल्फ इन द सर्भिस अव अदर्स’ जबसम्म नेताहरूले आफूलाई जनताको सेवामा समर्पित गर्दैनन्, तबसम्म नेपालको समृद्धिको सपना अधुरो रहनेछ। राजनेताको खोजी र निर्माण नै नेपालको भविष्यको आधार बन्न सक्छ। यही कारण सबैको जोड पुरानो तन्त्र फर्काउने सरकारको जोड घटाउ होइन। हरेकको दल भित्र त्यस्ता दुर दृष्टि भएको नेताको खोजी गर्न आवश्यक छ।