संवैधानिक आयोगलाई नियन्त्रणमा राख्न अध्यादेश ल्याइयो : कांग्रेस

हिमाल प्रेस २२ वैशाख २०८३ १९:०१ | Tuesday, May 5, 2026
16
SHARES
संवैधानिक आयोगलाई नियन्त्रणमा राख्न अध्यादेश ल्याइयो : कांग्रेस

काठमाडौँ- आफ्ना मान्छे नियुक्ति गरेर संवैधानिक आयोगलाई नियन्त्रणमा राख्ने ढंगबाट सरकारले अध्यादेश ल्याएको भन्दै नेपाली कांग्रेसले आपत्ति जनाएको छ।

मंगलबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस संसद समन्वय बोर्डको बैठकपछि संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमार्फत राज्यका निकायलाई नियन्त्रण गर्ने प्रयास गरिएकाले गम्भीर आपत्ति रहेको बताए।

सरकारले सिफारिस गरेको अध्यादेश जारी भइसकेपछि संसद् अधिवेशन आह्वान गर्नुले पनि सरकारको बदनियत स्पष्ट देखिएको उनले बताए। अध्यादेशलगायत विषयमा कांग्रेसले सशक्तरूपमा अन्य विपक्षीहरूलाई समेत साथमा लिएर सदनमा आवाज उठाउने उनले उल्लेख गरे।

उनले सरकारको क्रियाकलापले मुलुकलाई ठिक ठाउँमा लगेको जस्तो अनुभूति नभएको धारणा समेत राखे। त्यस्तै आङदेम्बेले व्यवस्थापनका बिषयलाई ख्यालै नगरी सुकुम्वासीको वस्ती भत्काउने काममा समेत कांग्रेसको विरोध रहेको बताए। राज्य आतंक मचाउने ढंगबाट प्रस्तुत भएकाले यसको पनि विरोध गरिएको उनको भनाइ छ।

कांग्रेस संसदीय दलको विधान (संशोधन र परिमार्जन सहित, २०८३) को धारा २१ बमोजिम गठन भएको संसद् समन्वय बोर्डको प्रथम बैठकमा पार्टीले यसअघि गरेका निर्णयहरूका विषयमा समेत छलफल भएको आङदेम्बेले जानकारी दिए।

प्रकाशित: २२ वैशाख २०८३ १९:०१ | Tuesday, May 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast