
काठमाडौँ- नेपाल शिक्षक संघ तनहुँका अध्यक्ष तथा स्थायी शिक्षक हकहित मञ्चका केन्द्रीय संयोजक रमेशबाबु भट्टराईले आज स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलसँग भेटघाट गरेका छन्। भट्टराईले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता (सहसचिव) शिव सापकोटासँग पनि भेटघाट गरे।
भेटका क्रममा शिक्षा ऐन निर्माणमा भइरहेको प्रगति, आगामी आर्थिक वर्षको बजेट विनियोजनमा तनहुँका सम्भावित क्षेत्रहरूको समावेशीकरण, जिल्लाको समग्र विकास र त्यसमा राजनीतिक प्रभावको भूमिकाबारे गहन छलफल भएको थियो।
संघका अध्यक्ष भट्टराईले शिक्षा प्रणालीमा आवश्यक सुधार, स्थायी शिक्षकहरूको हकहित संरक्षण तथा ऐनमार्फत शिक्षालाई दीगो आधार दिने विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए। साथै शिक्षा, स्वास्थ्य, पूर्वाधारलगायत क्षेत्रमा आगामी बजेटमा पर्याप्त स्रोत विनियोजन हुनुपर्ने माग पनि उठाएका थिए।
मन्त्री पौडेलले उक्त विषयलाई गम्भीरतापूर्वक लिँदै शिक्षा क्षेत्र सुधारका लागि आवश्यक पहल भइरहेको जानकारी दिएका थिए। उनले तनहुँको विकासका लागि बजेट र योजनामा प्राथमिकता दिने प्रतिबद्धता पनि व्यक्त गरेका थिए।