मकैमा फौजी कीराको समस्या देखिएपछि किसान चिन्तित

हिमाल प्रेस ११ जेठ २०८२ १०:०९ | Sunday, May 25, 2025
मकैमा फौजी कीराको समस्या देखिएपछि किसान चिन्तित

भोजपुर- मकैबालीमा फौजी कीराको समस्या बढ्न थालेपछि यहाँका किसान चिन्तित भएका छन्।

फौजी कीराले मकैबालीमा क्षति गर्न थालेपछि किसान चिन्तामा परेका हुन्। वैशाख अन्तिम साताबाट अमेरिकन फौजी कीराको समस्या बढेसँगै मकैबालीमा क्षति पुगेको स्थानीय कृषक धनबहादुर थापाले बताए।

कीराका कारण गोड्ने समय भएको मकैको गुबोभित्र पसेर गुबो खाइदिने, पात खाने र पहेँलो भएर मर्ने समस्या रहेको उनको भनाइ छ। ‘यस वर्ष पनि मकैमा फौजी कीराको समस्या देखिएको छ’, उनले भने, ‘फौजी कीराले मकैको गुबो खाएर नष्ट बनाएको अवस्था छ। मकैमा कीराको प्रकोप बढेपछि चिन्ता थपिएको छ। विशेष गरेर तल्लो भेगमा लगाइएको मकैमा कीराको समस्या बढी देखिएको छ।’

जिल्लाको भोजपुर नगरपालिकाको टक्सार, बोखिम, दाँवा, पौवादुङमा गाउँपालिका, टेम्केमैयुङ गाउँपालिका, अरुण गाउँपालिकालगायत तल्लो क्षेत्रमा फौजी कीराको समस्या देखिएको किसानको भनाइ छ। कीराले गुबो नै खान थालेपछि मुख्य खाद्यान्नका रुपमा लगाइएको मकैको उत्पादन घट्ने अवस्था रहेका किसानको भनाइ छ।

बेँसी तथा तल्लो भेगमा किसानले लगाएको मकैबालीमा फौजी कीराको समस्या देखिएकोे कृषि ज्ञान केन्द्र भोजपुरले जनाएको छ। कीरा नियन्त्रयका लागि किसानलाई आवश्यक प्राविधिक सहयोग गरिरहेको केन्द्रको भनाइ छ।

प्रकाशित: ११ जेठ २०८२ १०:०९ | Sunday, May 25, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast