प्रचण्ड भन्छन् – बुढेसकालै लागे पनि काँधमा एउटा नयाँ क्रान्ति थाल्ने अभिभारा आइपरेको छ

विजय नेपाल १० जेठ २०८२ १९:३०
10
SHARES
प्रचण्ड भन्छन् – बुढेसकालै लागे पनि काँधमा एउटा नयाँ क्रान्ति थाल्ने अभिभारा आइपरेको छ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'

पोखरा– नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बुढेसकाल लागे पनि आफ्नो काँधमा फेरि नयाँ क्रान्ति थाल्ने अभिभारा आइपरेको बताएका छन्।

‘जनतासँग माओवादी : मध्यपहाडी लोकमार्ग जनजागरण अभियान’ अन्तर्गत पोखरामा शनिबार आयोजित जनसंवाद कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले बैतडीदेखि सुरु भएको मध्यपहाडी लोकमार्ग जनजागरण अभियान कास्कीसम्म आइपुग्दा सिंगो देश २०६४ सालमा झैँ माओवादीमय बनेको पनि दाबी गरे।

उनले भने, ‘युवायुवती, वृद्धवृद्धाहरु, भर्खरका बालबालिका पनि एकचोटी फेरि माओवादीमा भाव पैदा भएको देखेँ। देश प्रचण्डमय हुन पुगेको देखेँ,’ उनी उत्साहित हुँदै भने, ‘निकै ठूलो जिम्मेवारी माओवादीको काँधमा, बुढेसकालै लागे पनि प्रचण्डको काँधमा एउटा नयाँ क्रान्ति थाल्ने अभिभारा आइपरेको र नेपाली जनताले त्यो जिम्मेवारी हामीलाई दिन तयार भएको महसुस गरेको छु।’

उनले आफूहरु काठमाडौँ फर्किसकेपछि दुईवटा वामपन्थी पार्टीसँग एकता हुने पनि बताए।

उनले यस जनजागरण अभियानबाट आफूहरुको लागि र सिंगो पार्टीका लागि नयाँ ऊर्जा बनेको पनि बताए। मुलुकमा सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको लागि समाजवादी क्रान्तिको तयारी गर्नु नै रहेको भन्दै उनले एउटा नयाँ साँस्कृतिक अभियानको आवश्यकता रहेको बताए।

यसअघि, पार्टीको केन्द्रीय कमिटी बैठकले समाजवादउन्मुख अर्थतन्त्रको आधार स्थानीय तहबाट सुरु गर्ने भनी त्यसको खाका प्रस्तुत गरिसकेको उनले स्मरण गराए।

माओवादी अध्यक्ष प्रचण्डले भने, ‘हरेक पालिकाको अलग–अलग विशेषता छ, त्यो आधारमा उत्पादन र उत्पादकत्वको विकास गर्ने, सानाठूला उद्योगहरुको विकास गर्ने, पर्यटन प्रवद्र्धनका क्षेत्रहरुको पहिचान गरेर पर्यटन प्रवद्र्धन गर्ने, जडिबुटी प्रशोधनको प्रक्रियामा लागेर तलबाट आत्मनर्भिर राष्ट्रिय अर्थतन्त्रको जग माओवादी केन्द्रले नै थाल्नुपर्छ भनी त्यो अभियान सुरु भइसकेको छ।’

उनले मुलुकमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको विषय पनि दोहो¥याए। आफूहरुले यस विषयमा पहिले पनि जोड दिएकोमा कांग्रेस र एमालेको असहयोगका कारण त्यसमा अल्झिएर बस्दा संविधानै नबन्ने र देश झन् ठूलो भुमरीमा जाने देखेर पछि हटेको स्मरण गर्दै अब जनताका बीचमा यो कुरा लगेर संविधान संशोधन गरेरै अघि बढ्ने बताए।

उनले कांग्रेस, एमालेबाट विकासको सम्भावना नै नभएको टिप्पणीसमेत गरे। आर्थिक गतिविधि बढाउन आफूहरुले नै मध्यपहाडी लोकमार्ग र हुलाकी लोकमार्ग निर्माण थालनी गरेको उनको दाबी थियो।

जनयुद्ध दिवसलाई राष्ट्रिय क्यालेण्डरमा बिदा मिलाउन सकेकामा उनले उपलब्धि ठाने। उनले अब नयाँ क्रान्तिमार्फत भ्रष्टाचारको अन्त्य हुने भन्दै संघीय लोकतान्त्रिक गणतन्त्रको वाहक हुनुको नाताले आफूहरुको संकल्प पनि रहेको बताए। जनतालाई कसरी सुशासन दिन सकिन्छ भन्नेबारे गम्भीर रहेको भन्दै आउँदो एक वर्षमा देश माओवादीमय हुने र आगामी निर्वाचनमा माओवादीलाई एक नम्बरको पार्टी बनाई सपना देखेअनुसार समाजवादको आधार स्तम्भ तयार हुने उनको दाबी थियो।

पोखरा चिप्लेढुंगास्थित मानवअधिकार चोकमा तय भएको जनसंवाद कार्यक्रम दिउँसो वर्षाको अनुमानपछि माटेपानीको केसी क्याटरिङ पार्टी प्यालेस सारिएको थियो।

पोखराको सभा अहिलेसम्मकै विशाल हुने आकलन रहेको प्रचण्डको दाबी थियो। तर स्थान परिवर्तन भए पनि आगामी दिनमा फेरि सभा हुने आश्वस्त पारे।

सभालाई माओवादी नेताहरु नारायणकाजी श्रेष्ठ, देव गुरुङ, नेत्र अधिकारी, गायत्री गुरुङ, दिनेश खनाल लगायतले सम्बोधन गरेका थिए।

गत २ जेठदेखि सुरु भएको माओवादीको मध्यपहाडी लोकमार्ग जनजागरण अभियान कास्कीबाट टुंगिएको छ। जनजागरण अभियानका क्रममा जनताबाट आएका सल्लाह, सुझाव, माग सरकारसमक्ष बुझाउने उनल बताए। माओवादीले यसअघि गत फागुनदेखि तराई–मधेश जनजागरण अभियान गरेको थियो। जुन झापाको कचनकवलबाट सुरु भइ हुलाकी राजमार्ग हुँदै कञ्चनपुर पुगेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast