बंगलादेश : राजनीतिक उथलपुथलका बीच राजीनामा दिनबारे सोचिरहेका छन् युनुस

हिमाल प्रेस ९ जेठ २०८२ १५:२८
18
SHARES
बंगलादेश : राजनीतिक उथलपुथलका बीच राजीनामा दिनबारे सोचिरहेका छन् युनुस

काठमाडौँ- बंगलादेशका अन्तरिम सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुस राजीनामा दिनबारेमा सोच्दैछन्। यो विषयमा विद्यार्थी नेता र नेशनल सिटिजन पार्टीका संयोजक नाहिद इस्लामले युनुससँग उनको निवास जमुनामा भेट गरेका छन्।

देशको वर्तमान स्थितिका बीच राजीनामाको चर्चा सुनेर आफूहरूले अन्तरिम सरकार प्रमुख युनुससँग भेट गरेको नाहिदलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ।

उनले भने,‘हामी देशको हालको स्थितिको बारेमा सरको राजीनामाको समाचार सुनेका थियौँ। त्यसैले म उनीसँग भेट्न गएको हो। भेटका क्रममा उहाँले देशको वर्तमान अवस्थामा काम गर्न नसक्ने भन्दै चिन्ता व्यक्त गर्नु भएको छ।’

यसअघि युनुसले ढाकामा एडभाजरी काउन्सिलको बैठकमा देशको अवस्थाप्रति आक्रोश व्यक्त गरेका थिए। अर्कोतर्फ राजनीतिक दलहरूले पनि अन्तरिम सरकारमाथि दबाब बनाइरहेका छन्।

पूर्वप्रधानमन्त्री खालिदा जियाको पार्टी बीएनपीले बिहीबार अन्तरिम सरकारसँग केही सल्लाहकारलाई हटाउन माग गरेको थियो।

यता अन्तरिम सरकारका प्रमुख युनुस र बंगलादेशमा शक्तिशाली ठानिएको सेनाबीच पनि खटपट सुरू भएको बताइएको छ। आमचुनाव गर्ने विषयमा युनुस र सेना प्रमुख जनरल वाकर–उज–जमानबीच सम्बन्ध चिसिएको हो।

जनरल वाकर ढिलोमा आगामी डिसेम्बरसम्म आमनिर्वाचन गर्नुपर्ने अडान लिएका छन्। यसका लागि उनले सरकारमाथि पनि निरन्तर दबाब बनाइरहेका छन्।

जबकि अन्तरिम सरकार प्रमुख युनुस जुन २०२६ सम्म चुनाव गराउन बताएका छन्। चुनावमा अग्रणी दाबेदारका रूपमा हेरिएको बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) ले बारम्बार चुनावको मिति घोषणा गर्न माग गरिरहेको छ।

करिब १७ करोड जनसंख्या भएको बंगलादेश गत अगस्तमा तत्कालीन प्रधानमन्त्री शेख हसिनालाई अपदस्थ गर्ने विद्यार्थी नेतृत्वको विद्रोहदेखि राजनीतिक अशान्तिबाट गुज्रिइरहेको छ। सडकमा प्रदर्शन गरिरहेका विभिन्न दलहरूले कैयन माग अगाडि सारेका छन्।

बंगलादेश यतिबेला अराजक चरणबाट गुज्रिइरहेको निष्कर्षसहित सेना प्रमुख जनरल वाकर डिसेम्बरसम्म जसरी पनि चुनाव गराउन अन्तरिम सरकारमाथि दबाब बढाइरहेका छन्।

गत वर्ष अगस्तमा हसिनालाई अपदस्थ गरिएको र सेनाले छोटो समयका लागि नियन्त्रणमा लिएको घोषणा गर्ने व्यक्ति वाकर नै थिए। केही दिनपछि उनले ८४ वर्षीय युनुसलाई सत्ता हस्तान्तरण गरेका थिए। युनुसले अर्को चुनावसम्म आफूले कार्यवाहक सरकारको नेतृत्व सम्हाल्ने बताएका छन्।

प्रकाशित: ९ जेठ २०८२ १५:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast