शिक्षकको अनियमित सरुवा र प्रअको अन्यायपूर्ण हेरफेरप्रति एनएनटीएको ध्यानाकर्षण (विज्ञप्तिसहित)

हिमाल प्रेस ३१ वैशाख २०८२ २०:०२ | Wednesday, May 14, 2025
शिक्षकको अनियमित सरुवा र प्रअको अन्यायपूर्ण हेरफेरप्रति एनएनटीएको ध्यानाकर्षण (विज्ञप्तिसहित)

ललितपुर- नेपाल राष्ट्रिय शिक्षक संगठन (एनएनटीए)) ले हालै आन्दोलनमा सहभागी भएका शिक्षकहरूमाथि पूर्वाग्रहीरूपमा गरिएको सरुवा तथा प्रधानाध्यापकहरूको अन्यायपूर्ण घटुवाप्रति गम्भीर आपत्ति जनाएको छ।

एनएनटीएका महासचिव हंसबहादुर शाहीले बुधबार विज्ञप्ति जारी गर्दै यस्ता कार्यहरू असंवैधानिक, अराजक र शिक्षकको ट्रेड युनियन अधिकारमाथि सीधा हस्तक्षेप भएको बताए।

एनएनटीएका अनुसार सप्तरी जिल्लाको सुरुङ्गा नगरपालिकामा १४ जना शिक्षक सरुवा र प्रधानाध्यापकहरूको परिवर्तन गरिएको छ भने सर्लाहीको मलङ्गवा नगरपालिकामा ४५ जना शिक्षकहरूलाई एकैचोटि स्थानान्तरण गरिएको छ।

यस्तै, धादिङको बेनीघाट रोराङ गाउँपालिकामा ५५ जना र गजुरी गाउँपालिकामा २४ जना शिक्षकहरूको सरुवा गरिएको छ। सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा पनि यस्तै प्रकारका अवाञ्छित क्रियाकलापहरू भइरहेको जनाइएको छ।

सोलुखुम्बु जिल्लामा विगतदेखि नै व्यापक सरुवा हुँदै आएकोमा हाल आन्दोलनबाट फर्किएका दुधकुण्ड नगरपालिकाका २० जना शिक्षकहरूको पुनः सरुवा गरिएको छ भने एक जना प्रधानाध्यापकलाई घटुवा गरी अन्यत्र पठाइएको जानकारी संगठनले प्राप्त गरेको छ।

संगठनले यी सम्पूर्ण घटनाहरूलाई पूर्वाग्रही र योजनाबद्ध रूपमा गरिएको भन्दै यसको कडा शब्दमा भर्त्सना गरेको छ। यस्ता कार्यले शिक्षक समुदायमा मानसिक त्रास सिर्जना गर्नुका साथै शिक्षण सिकाइको वातावरणमा प्रतिकूल असर परेको संगठनको ठहर छ।

विज्ञप्तिमा भनिएको छ, ‘शिक्षकहरूको मनोबल कमजोर पार्ने, ट्रेड युनियन अधिकारलाई कमजोर बनाउने र शिक्षा क्षेत्रमा अस्थिरता सिर्जना गर्ने यस्ता अराजक कार्यहरू तुरुन्त खारेज गरी सरुवा तथा घटुवा गरिएका शिक्षकहरूलाई यथास्थितिमा फर्काउनुपर्छ।’

संगठनले शिक्षा क्षेत्रको गुणस्तर, सम्मान र स्थायित्व कायम राख्न सबै सरोकारवाला पक्षसँग गम्भीर संवाद र सहकार्यको माग गरेको छ। साथै, नेपाल शिक्षक महासंघ, स्थानीय तह, प्रदेश र संघ सरकारको ध्यानाकर्षण गराउँदै संगठनले शिक्षक आन्दोलनको भावना विपरीत कुनै पनि गतिविधि नगर्न र नगराउन स्पष्ट चेतावनी दिएको छ।

विज्ञप्तिमा थप भनिएको छ, ‘नेपाल राष्ट्रिय शिक्षक संगठन शिक्षकमाथिको दमन र अन्यायको विरोधमा अडिग रहनेछ र शिक्षक समुदायको हकहित र गरिमाको संरक्षणका लागि निरन्तर संघर्षरत रहनेछ।’

यस्तो छ विज्ञप्ति

प्रकाशित: ३१ वैशाख २०८२ २०:०२ | Wednesday, May 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast